सूर्य नेपाल वेस्टर्न ओपन पहिलो दिन भुवनलाई अग्रता

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन बुधबार भुवन नगरकोटी दुई अन्डर ६७ स्कोरका साथ शीर्ष स्थानमा रहेका छन् । पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरुङलाई तीन स्ट्रोकले पछि पारेका छन् । सञ्जय र प्रज्वल एक ओभर ७० स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । दलबहादुर लामा, रामे मगर र राष्ट्रिय टोलीका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले दुई ओभर ७१ स्कोरसहित चौथो स्थानमा रहे । 

१३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुवास तामाङ र प्रो धनबहादुर थापाले तीन ओभर ७२ को स्कोर कार्ड बनाउँदै संयुक्त रूपमा सातौँ स्थानमा छन् । नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडीमध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए । पहिलो होलमा बोगीको सामना गरे पनि चौथो र छैटौँ होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३३ स्कोर गरे । 

यसपछि भुवनले १०औँ, १३औँ र १७औँ होलमा समान एक सट बचाए । १३औँ र १६औँ होलमा उनले बोगी सामना गरे । उनले ब्याक नाइन एक अन्डर ३४ स्कोर गरे । सञ्जयले दोस्रो होलको बोगीले फ्रन्ट नाइनमा एक ओभर ३५ स्कोर गर्न सफल भए । यसपछि १५औँ होलमा बर्डी प्रहार गरे पनि उनले १६ औँ होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन पार खेल्दै ३५ स्कोर गरे । 

पहिलो दिनको खेलमा ९० वा सोभन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन् । ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

सुझावित समाचार