मकवानपुर गोल्डकपको उपाधि मनाङलाई

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

रोशन रानामगरको एक मात्र निर्णायक गोलको मद्दतमा मनाङ मस्र्याङ्दी क्लब मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा मनाङले हिमालयन शेर्पालाई १–० ले हराउँदै ट्रफी उचालेको हो ।

मनाङले उपाधिसँगै १५ लाख र उपविजेता हिमालयनले १० लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङको यो सिजनमा पहिलो उपाधि जितेको हो । पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७८औँ मिनेटमा रोशनले मनाङलाई १–० को अग्रता दिलाए । उनले कर्नरमा गोल गरेका हुन् । खेलमा थप गोल नहुँदा रोशनकै गोल निर्णायक बन्यो । 

फाइनलमा उनले म्यान अफ दी म्याच ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरेका छन् । खेल अवधिभर हिमालयनले मनाङविरुद्ध निकै राम्रो प्रदर्शन गरेको थियो । तर, हिमालयनको फिनिसिङ कमजोर देखियो । हिमालयनका खेलाडीहरूले गोल अवसर गुमाएका थिए । हिमालयनका विदेशी खेलाडी योमीले चौथो मिनेटमा डिबक्सभित्र गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामा समेत गोल गर्न सकेनन् । उनले लगभग खाली पोस्टमा प्रहार गरेको बल बाहिरियो ।

दीप सर्वोत्कृष्ट खेलाडी
मनाङका कप्तान तथा गोलरक्षक दीप कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । कार्की नै प्रतियोेगिताको उत्कृष्ट गोलरक्षक बनेका छन् । मनाङका मिडफिल्डर कमल थापा र प्रशिक्षक किरण श्रेष्ठले विधागत उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । हिमालयनका डिफेन्डर अमृत श्रेष्ठ र स्ट्राइकर योमी आ–आफ्नो विधामा उत्कृष्ट घोषित भए । 

सुझावित समाचार