असल चालचलन भएको भन्दै ०७७ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका दुई व्यक्ति ७६ लाख रुपैयाँबराबरको धनमाल चोरीको आरोपमा पक्राउ परेका छन्।
मकवानपुरका रेशम रुम्बा र सागर तामाङलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। उनीहरू कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल बसी ०७७ सालको प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाई छुटेका थिए।
उनीहरूसहितका व्यक्तिले बौद्ध फूलबारी बस्ने साङ्गे लामाको घरबाट गत ७ माघमा ४२ लाख रुपैयाँबराबरको गहनासहित अन्य सामान र १ फागुनमा बौद्ध स्तुपास्थित ३५ लाख ५० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेका थिए।
उनीहरूसहित योङ्गा लिम्बू, जीवन मगर, पेम्बा लामा र डिमा वाङ्दी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट चोरीका सामानसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए।
विभिन्न समयमा विभिन्न ठाउँमा चाेरी गरिएका सामानहरू । तस्बिर : नेपाल प्रहरी।
