बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकमार्फत नेपालपे क्युआरमा दुई लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्डअनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो ।
छोटो समयमै दुई लाखभन्दा बढी मर्चेन्टहरू क्युआरमा आबद्ध हुनुले नेपालमा क्युआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने एनसिएचएलले विश्वास व्यक्त गरेको छ । क्युआर स्किमका रूपमा पनि उपलब्ध रहेको नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।
हाल २३ बैंक वित्तीय संस्था तथा दुई भुक्तानी सेवाप्रदायकमार्फत व्यावसायिक ग्राहकले नेपालपे क्युआरमा आबद्ध हुन सक्ने एनसिएचएलले जनाएको छ । १६ बैंक वित्तीय संस्था तथा चार भुक्तानी सेवाप्रदायकका वालेटमार्फत स्क्यान एन्ड पेको सुविधा उपलब्ध रहेको उल्लेख छ ।
विभिन्न व्यावसायिक ग्राहकले नेपालपे कयुआरमा आबद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । भौतिक रूपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्स पोर्टलमा क्युआर गेटवे जोडी अथवा एन्ड्रोइड पिओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिने एनसिएचएलले जनाएको छ ।