ललितपुरको दक्षिणी ग्रामीण भेगलाई सहरसँग जोड्ने बिर्खेधारा–दलचोकी–शंखु सडक सञ्चालनमा आएको २० वर्ष बित्दासम्म पनि कालोपत्रे हुन सकेको छैन । जसका कारण यो सडक हुँदै दिनहुँ ओहोरदोहोर गर्ने सयौँ सर्वसाधारण सास्ती भोग्न बाध्य छन् ।
करिब १५ किलोमिटर लामो यो सडकखण्डको केही भाग चौडा पारे पनि अधिकांश भाग साँघुरो र अस्तव्यस्त छ । सात वर्षअघि कालोपत्रे गर्ने भन्दै सडकमा ग्राभेलसमेत बिछ्याइएको थियो । तर, कालोपत्रे नहुँदा उक्त ग्राभेलसमेत बगेर जीर्ण बनेको छ । यो सडकमा करिब एक दर्जन सहायक सडक जोडिन्छ ।
ललितपुरका ग्रामीण क्षेत्रलाई जोड्ने बिर्खेधारा–दलचोकी–शंखु र कान्तिलोकपथ मुख्य सडक हुन् । चापागाउँ–टीकाभैरव हुँदै हेटौँडासम्म जोड्ने कान्तिलोकपथ निर्माण सकिने अवस्थामा भए पनि ललितपुरकै गाउँहरू जोड्ने बिर्खेधारा–शंखु सडक ओझेलमा परेको स्थानीय बताउँछन् । सडक जीर्ण बनेका कारण ग्रामीणस्तरमा उत्पादित कृषि सामग्रीसमेत सहर पु¥याउन कठिन भएको शंखुका दीपक सञ्जेलले बताए । ‘गोठभञ्ज्याङदेखि शंखु लाँकुरीभञ्ज्याङसम्म १० किलोमिटर सडक निकै जीर्ण छ,’ उनी भन्छन्, ‘हिउँदमा धुलो र खाल्डाखुल्डी, बर्खामा पहिरोले आवागमन नै बन्द हुन्छ, तर सम्बन्धित निकायले चासो दिएनन् ।’
यो सडकमा लेले–चन्दनपुर र इकुडोल छपेली सडकसमेत जोडिएको छ । एक दर्जन हाराहारी सहायक सडक यसमा जोडिएका छन् । यही सडक हुँदै इकुडोल, बुखेल, मानिखेल, गोटीखेलका सयौँ मानिस दैनिक ओहोरदोहोर गर्छन् । हाल यस रुटमा चागागाउँ हुँदै नियमित दुईवटा यात्रुवाहक बस र ६ वटा दूध ढुवानी गर्ने मालवाहक गाडी गुड्छन् । यही बाटो हुँदै दक्षिण ललितपुर कृषिको पकेट क्षेत्र मानिने गाउँहरू पुगिन्छ ।
दक्षिण ललितपुरका अधिकांश मानिस कृषि पेसामै निर्भर छन् । यहाँ दूध, तरकारीलगायत वस्तु उत्पादन पनि हुन्छ । तर, सडकको अवस्था नाजुक हुँदा ओहोरदोहोरमा सास्ती हुने गरेको स्थानीय कृष्णप्रसाद घिमिरे बताउँछन् । उनका अनुसार सडक अस्तव्यस्त हुँदा शंखुमा निर्माणाधीन अस्पतालका लागि चाहिने सामान ढुवानीमा समेत समस्या भएको छ । ‘दैनिक दर्जनौँ टिपर, २०–२५ वटाभन्दा धेरै बसलगायत ठूला सवारीसाधन, मझौला तथा साना सवारीसाधन गुड्दा सडक व्यस्त हुन्छ,’ उनी भन्छन्, ‘सडक अस्तव्यस्त हुँदा सवारी दुर्घटनासमेत बढेको छ ।’
उनका अनुसार बिर्खेधारा–दलचोकी सडकखण्डको गोठभञ्ज्याङदेखि सिलिंगेबेँसीसम्म अत्यधिक ठाडो र खाल्डाखुल्डी छ । खाल्डाखुल्डी, सडकमा बनेको लिक नसम्याउँदा दुर्घटनासमेत हुने गरेको छ ।
गाउँपालिकाले मात्रै कालोपत्रे गर्न सक्दैन : गाउँपालिका
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सडक मर्मत र कालोपत्रेका लागि पहल भइरहेको जानकारी दिए । उनले सडक निर्माण भएको झन्डै दुई दशक बितिसक्दासमेत सडकको अवस्था सुधार हुन नसक्दा स्थानीयलाई ओहोरदोहोरमा सास्ती भएको भन्दै यसको मर्मत सुधारमा लागिपरेको बताए ।
‘यो सडक दक्षिण ललितपुरका धेरै क्षेत्रलाई जोड्ने सडक हो, यसलाई व्यवस्थित बनाउन आवश्यक छ,’ उनले भने, ‘यसअघि पदमा हुनेले पहल नगर्दा सडक दुई दशकसम्म पनि कालोपत्रे भएन ।’ उनले यो सडक निर्माण गर्ने क्षमता गाउँपालिकासँग नभएको भन्दै सडक डिभिजन कार्यालय, उपत्यका विकास प्राधिकरणलगायत निकायलाई पहल गर्ने बताए ।