प्राचीन समयमा केशिनी नामकी कन्या निकै रुपवती थिइन् । उनको सौन्दर्यमा लोभिएर दैत्यराज प्रल्हादका छोरा विरोचनले उनीसँग विवाह गर्ने प्रस्ताव राखे । तर, केशिनीले स्विकारिनन् । उनले विरोचनको क्षमता परीक्षण गर्ने मनसायले सोधिन्– ‘तपाईंलाई ब्राह्मण ठूलो लाग्छ कि दैत्य ?’ विरोचनका लागि उत्तर मामुली थियो । कहाँ ब्राह्मण ? कहाँ दैत्य ? दैत्य नै ठूलो हुन्छ नि ! मलाई नै हेर न, कुरो छर्लंगै छ,’ विरोचनले जवाफ दिए । केशिनीले भनिन्, ‘त्यसो हो भने अंगिरा ऋषिका छोरा सुधन्वा यहाँ आउँदै छन् । भोलि बिहान उनीसँग भेट हुन्छ, त्यसपछि उँच–नीच विचार गरेर म उपयुक्त निर्णय लिनेछु ।’
भोलिपल्ट सुधन्वा आइपुगे । केशिनी, विरोचन र सुधन्वाबीच ब्राह्मण ठूलो कि दैत्य ठूलो भन्ने विषय उठान भयो । सुधन्वाले ब्राह्मण ठूलो र विरोचनले दैत्य ठूलो नभन्ने कुरै भएन । आफू ठूलो हुँ भन्ने प्रमाणित गरेर केशिनीसँग विवाह गर्नका लागि विरोचन ज्यानको बाजी राख्न पनि तयार भए । विवाद नटुंगिएपछि दुवै झगडिया कुनै निर्णायककहाँँ पुगी कुरो छिनोफानो गर्न राजी भए । निर्णयकर्ता को राख्ने भन्नेबारे लामो छलफल भयो । अन्त्यमा विरोचनका बाबु प्रल्हादलाई निर्णायकका रूपमा स्वीकार गर्न दुवै सहमत भए ।
दुवैजना प्रल्हादसमक्ष हाजिर भए र उचित निर्णय दिन अनुरोध गरे । ज्यानको बाजी थापिएकाले यो विषय गम्भीर थियो । प्रल्हाद र सुधन्वाबीच प्रश्नोत्तर सुरु भयो ।
प्रल्हाद : कसैले अनुचित न्याय गर्यो भने कस्तो दण्ड पाउँछ ?
सुधन्वा : अनुचित न्याय गर्नेले घरमा सौता भित्रिएकी स्त्रीले जस्तो वेदना सहनुपर्छ, जुवामा सर्वस्व गुमाएको जुवाडेको जस्तो हालत व्यहोर्नुपर्छ, विशाल भारी बोकेको भरियाले भारी बिसाउन नपाउँदा जस्तै कष्ट व्यहोर्नुपर्छ, आफू नि नरकमा पर्छ र कुललाई पनि नरकमा पार्छ ।
प्रल्हादले सुधन्वाबाट यस्तो शास्त्रीय, विद्वतापूर्ण र मार्मिक जवाफ पाएपछि आफ्नो छोरा विरोचनतर्फ फर्केर भने, ‘पुत्र तिम्रो पिता म प्रल्हादभन्दा सुधन्वाका पिता अंगिरा श्रेष्ठ हुन् । तिम्री माताभन्दा सुधन्वाकी माता महान् छिन्, किनकि असल सन्तान जन्माउने मातापिता दुवै पुज्य हुन्छन् ।
अतः अंगिराका छोरा सुधन्वा नै ठूला हुन् । तसर्थ, यो विवादमा तिमी सुधन्वासँग हार्यौँ । ज्यानको बाजी सुधन्वाले जिते । अब तिम्रो ज्यान सुधन्वाको अधीनमा पुग्यो । यो निर्णय सुनेपछि सुधन्वाले भने, ‘दैत्यराज प्रल्हाद, तपाईंले आफ्नो छोरा विरोचनको पक्ष लिएर झुटो कुरा बोल्नुभएन, धर्मको पक्ष लिएर सत्य कुरा बोल्नुभयो । तसर्थ, मेरो अधीन आइपुगेका तपाईंको छोरा विरोचन म तपाईंलाई नै दान गर्छु । केशिनीसँग विवाह पनि विरोचन नै गरून् ।’