पुरानो गठबन्धनबाट कांग्रेसकै उम्मेदवार राष्ट्रपति

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

कांग्रेसले पुरानै गठबन्धनबाट राष्ट्रपति बनाउने प्रयत्न गरिरहेको देखिन्छ, तर त्यही गठबन्धनभित्रको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेबाट राष्ट्रपति उठाउने चर्चा छ नि ?
कांग्रेस र एकीकृत समाजवादीबीच लगातार छलफल चलिरहेको छ । हामी त कसरी मिलेर जाने भन्नेमा छौँ । पुरानो गठबन्धन भत्किएकोमा चिन्तित भएर सँगै जाने भन्नेमा सघन छलफल भएकै हामी दुई दलबीच हो । हाम्रो एक–अर्काका चाहनालाई कसरी एडजस्ट गर्ने भन्नेबारे विभिन्न कोणबाट छलफल हुन सक्छ र हामी गर्छौँ पनि । अहिले जुन खालका अनुमान बाहिर आएका छन्, ती गलत हुन् । 

एमालेले पनि विभिन्न प्रयास गरिरहेको छ, पुरानो गठबन्धन ब्युँतिने सम्भावना छ र ?
कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित पुराना दल एकै ठाउँमा उभिने हाम्रो पूर्ण समझदारी छ । अब कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बनेर जाँदा समझदारी थप विकास हुनेमा माओवादी र समाजवादीमा कुनै अलमल छ भन्ने लाग्दैन । यो माओवादीले पनि बुझेको छ, एकीकृत समाजवादी र सबै दलले बुझेका छन् । त्यसैले, समाजवादीका नेताहरूले अहिले ‘पावर सेयरिङ’मा आफ्नो स्थान खोजिरहनुभएको छ । समाजवादीलाई अलग राखेर पावर सेयरिङ हुन नसक्ने बताइरहनुभएको छ । यस अवस्थामा उहाँहरूलाई पनि चित्त बुझाएर हिँड्नुपर्छ । 

एमालेबाट भएका प्रयासबारे कांग्रेस कति जानकार छ ? 
अहिले एमाले नेतृत्वले माओवादी नेतृत्वलाई पूरै पाँच वर्ष सरकार चलाउनुस्, हामी समर्थन गर्छौँ भनिरहेको छ । एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनाल दुवैलाई राष्ट्रपतिमा समर्थन गर्छौँ भनिरहेको छ । कांग्रेसमा समेत व्यक्तिलाई भेटेर राष्ट्रपतिमा मद्दत गर्छौँ भनेको छ । कांग्रेस र एमाले मिलेर चलाऔँ, अरू दललाई छाडिदिउँ भनेर पनि खबर पठाएको छ । उसले त सबैसँग कुरा गरिरहेको छ । १० पुसमा पनि यसै गरेको हो । त्यतिवेला हामी झुक्कियौँ, अब फेरि १० फागुनमा कोही झुक्किन्छ ? हामी अस्ति मात्रै एमालेले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन लाग्यो भनेर झुक्किएका हौँ, अब शेरबहादुर, माधव, प्रचण्ड कोही पनि झुक्किँदैन ।  

कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने तपाईंको दाबी हो ? 
कांग्रेस, माओवादी, समाजवादीलगायत पुरानो गठबन्धन दलको समझदारीबाटै राष्ट्रपति बन्छ । त्यो समझदारी भनेकै कांग्रेसको उम्मेदवारको पक्षमा हुन्छ । 

सुझावित समाचार