हिमालयन र मनाङबीच उपाधि भिडन्त, इतिहास रच्ने दुवैको दाबी

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा दुवै क्लबले बागमती प्रदेशको राजधानी हेटौँडामा जारी पाँचौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन्।

फाइनल खेलको अघिल्लो दिन मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका कप्तान तथा प्रशिक्षक र म्यानेजरले उपाधि जित्ने दाबी गरेका हुन्।

कन्फ्रेन्समा बोल्दै मनाङका म्यानेजर शिव लामाले आफूहरू अभ्यास खेलको रूपमा प्रतियोगितामा सहभागी भएको दाबी गर्दै अब उपाधि लिएर जाने बताए।

 उनले अहिलेको युवा टिमलाई पछिसम्मको लागि तयार गरिरहेको भन्दै पहिलोपटक नेपालमा खेलिरहेका विदेशी खेलाडीहरूले पनि सोचेभन्दा राम्रो खेलको प्रतिक्रिया दिए।

‘हामीले प्रतियोगितालाई अभ्यासका लागि मात्रै लिएका थियौँ। तर, परिस्थिति बदलिएको छ । हामी उपाधि लिएर जान्छौँ,’ उनले भने । हाम्रो युवा टिम र विदेशी खेलाडी दुवैले धेरै राम्रो खेल प्रस्तुत गरिरहेका छन्। हामी उपाधि जित्छौँ।’

यस्तै, मनाङका कप्तान दीप कार्कीले टिममा धेरै युवा खेलाडीहरू भएकाले टिम सेटमा समय लाग्ने भएकाले सुरुमा उपाधिका बारेमा नसोचे पनि अब आफूहरू उपाधि दाबेदार भएको बताए। उनले फाइनलमा थप सुधारिएको खेल खेल्दै उपाधि जित्ने दाबी गरे।
यता अर्को प्रतिस्पर्धी टिम हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम राम्रो रहेकाले उपाधि जित्ने दाबी गरे। 

उनले शारीरिक रूपमा र अनुभवमा निकै बलियो क्यामरुनी टिम एभिनियरलाई हराएर फाइनल यात्रा तय गरेको स्मरण गराउँदै आफूहरूसँग मनोबल पनि उच्च रहेको बताए।
‘हाम्रा केही खेलाडीहरू घाइते छन्। तर पनि हामी कुनै खेलाडी परिवर्तन गर्ने सोचमा छैनौँ। अहिले खेलिरहेको टिमले नै फाइनलमा पनि खेल्नेछ,’ उनले भने। 

शेर्पाका कप्तान विश्वास श्रेष्ठले मनाङ बलियो टोली भए पनि उपाधि भने आफूहरूले नै जित्ने दाबी गरे । उनले आफूहरू तीनवटा म्याच जितेर फाइनलसम्म आइपुगेको स्मरण गराउँदै क्यामरुनी टिमलाई हराउँदा टिमका खेलाडीहरू थप उत्साहित रहेको उनले बताए।

 नयाँ विजेता पाउँदै मकवानपुर गोल्डकप

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताबाट मकवानपुर गोल्डकपले नयाँ विजेता पाउने भएको छ। 

पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल बुधबार हुने फाइनल भिडन्तमा नेपालका चर्चित ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्दै छन्। 

मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। यी दुवै टोली गोल्डकपको फाइनलमा पहिलोपटक भिड्न लागेका हुन्। ०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो। 

त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई ०७६ सालबाट पुनः निरन्तरता दिइएको हो। ०७६ मा प्रतियोगिताको उपाधि घरेलु टिम मकवानपुर ११ ले जितेको थियो भने ०७७ र ०७८ को उपाधि लगातार विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको थियो। 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट बाइक) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

सुझावित समाचार