निकिला मिडिया नेटवर्कले दोस्रो संस्करणको ‘गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ घोषणा गरेको छ। कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुंगेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा बालुवाटारस्थित टाइम्स स्क्वायर होटेलमा पत्रकार सम्मेलन गरी उक्त अवार्ड घोषणा गरिएको हो।
लामो समयदेखि आ–आफ्नो क्षेत्रमा तल्लीन भई सफल तथा समाजका लागि योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायीप्रति समर्पण र सम्मान दर्शाउने उद्देश्यले अवार्ड समारोहको आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आयोजक समितिका अध्यक्षसमेत रहेका सोनितराज ढुंगेलको इभेन्ट क्षेत्रमा लामो अनुभवपश्चात् अवार्डहरूको भिडमा पृथक किसिमका अवार्ड आयोजना गर्ने जमर्को कस्ने सिलसिलामा पहिलो संस्करणको ग्यालेक्सी एक्सिलेन्स अवार्डको भव्य सफलतापश्चात् आएका सकारात्मक प्रतिक्रियाले गौरवान्वित भएको बताए। सबैको चाहना र मागअनुसार दोस्रो संस्करणको अवार्ड घोषणा गरिएको उनको भनाइ छ।
आयोजकका अनुसार पहिलो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यसपटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै प्रतिष्ठित ४ जना निणार्यक मण्डलको टिमले नेपाल तथा विश्वभरबाट परेका आवेदनहरूको अन्तिम छनोट गरी आगामी चैत्र १७ गते होटेल हायातमा एक समारोहबीच विजेतालाई अवार्ड हस्तान्तरण गरिने छ।