उद्योगहरूले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई दूधको मूल्य बढाउनका लागि प्रस्ताव गरेका हुन् ।
उद्योगहरूको माग प्रतिलिटर १४ रुपैयाँ भए पनि १० रुपैयाँ बढाउन मन्त्रालयको सचिवलाई प्रस्ताव गरेको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए । उनले भने, ‘दानालगायत सम्पूर्ण वस्तुको मूल्य बढेको हुँदा मूल्य बढाउनुपर्ने किसानहरूकै माग भएकाले बढाउन प्रस्ताव गरेका हौँ ।’ दूधको मूल्य बढाउनका लागि लागत अध्ययन प्रतिवेदन तयार भएको र उक्त प्रस्तावलाई मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।
उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयात अनुमति खोल्नसमेत माग गरेका छन् । अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ । दाहालका अनुसार हाल दूधको माग ३५ लाख लिटर भए पनि ३० लाख लिटर मात्र उत्पादन हुन सकेको छ ।
करिब पाँच लाख लिटर दूध अपुग छ । दाहालले भने, ‘अपुग मागलाई कच्चा दूध आयात गरेर मागपूर्ति गर्नुपर्छ, नभए डेरी उद्योगीहरू संकटमा पर्ने अवस्था छ ।’ हाल दूधको न्यूनतम समर्थन मूल्य ५८ रुपैयाँ प्रतिलिटर रहेको छ । सरकारले प्रस्ताव पास भएपछि दूधको न्यूनतम समर्थन मूल्य ६८ रुपैयाँ प्रतिलिटर पुग्नेछ ।गत पुसमा डेरी उद्योगले आफूखुसी मूल्य बढाएका थिए । प्रतिलिटर १४ रुपैयाँ दूधको मूल्य बढाइएपछि दुग्ध विकास बोर्डको हस्तक्षेपमा लागू हुन रोकिएको थियो ।