सात वर्षपछि नेपाल भ्रमणमा आएको नामिबियाले आफ्नो यात्रा सुखद बनाउन सकेन । आइसिसी पुरुष विश्वकप लिग– २ शृंखलामा सहभागिता जनाउन आएको नामिबियाले चारै खेल गुमाएको छ । लिग–२ अन्तर्गत शृंखलामा पहिलोपटक नामिबिया अंकविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टियू)मा सोमबार स्कटल्यान्डले नामिबियामाथि ४३ रनले हराएको छ । नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । स्कटल्यान्डसँग दोस्रो खेलमा १० विकेट र तेस्रो खेलमा नेपालसँग तीन विकेटको हार सामना नामिबियाले गर्यो । स्कटल्यान्डसँगको हारसँगै नामिबियाले लिग– २ को शीर्ष तीनमा रहन अर्काे खेल कुर्नुपर्ने भएको छ ।
नामिबियाको ब्याटिङ चलेन
टियू मैदानमा पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा दुई सय २१ रनको मध्यम योगफलमा समेटियो । प्रत्युत्तरमा नामिबियाको ब्याटिङ कमजोर भयो । स्कटल्यान्डको धारिलो बलिङ सामना गर्न नसक्दा ४३ रनको हार सामना ग¥यो । लक्ष्य पछ्याएको इनिङ्समा नामिबिया ३८.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७८ रन मात्र बनायो । नामिबियाको ब्याटिङ इनिङ्समा ओपनर लोहान्द्रे लोउब्रेन्सले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६ चौकासहित ५२ रनको योगदान दिए ।
कप्तान गेहार्ड इरास्मुसले ३८ बलमा ४३ रनको योगदान गरे । विकेटकिपरसमेत रहेका जान ग्रिनले २५ रन जोडे । साउन फोउचे र रुवेनले समान १० रनको योगदान गरे । सो ब्याटिङ इनिङ्समा तेस्रो विकेटका लागि गेहार्ड र लोहान्द्रेबीच सर्वाधिक ६० रनको साझेदारी भएको थियो । दुवैले गतिलो साझेदारी गर्नुअघि नामिबिया ५२–२ को अवस्थामा थियो । दुवै ब्याट्सम्यानले नामिबियालाई २१.३ ओभरमा ११२–३ को स्थितिमा राखे ।
नामिबियाले पाँच विकेट गुमाउँदा एक सय ३० रन जोडेको थियो । त्यसपछिका पाँच विकेटका लागि नामिबियाले ४८ रन जोड्यो । नामिबियाले १३ अतिरिक्त रन पाएको थियो । स्कटल्यान्डका स्पिनर मार्क वाटले सर्वाधिक चार विकेट लिएका थिए । ८.४ ओभर बलिङ गरेका वाटले दुई मेडन राखेर ४१ रन खर्चिए । माइकल लेआस्कले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राखी ४२ रन खर्चे ।
स्कटल्यान्डको मध्यम योगफल
अघिल्लो दुई खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको स्कटल्यान्डले तेस्रो खेलमा नामिबियाविरुद्ध स्तरीय प्रदर्शन गर्न सकेन । इनिङ्सको तेस्रो बलमै स्कटल्यान्डले विकेट गुमाएको थियो । स्कटल्यान्डका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । तेस्रो नम्बरमा क्रिजमा आएका क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४७ रन बनाएका थिए । उनले ७५ बलमा सात चौका हिर्काएका थिए । थोमस म्याकिन्टोसले ३४ रन जोडे । उनले ४८ बलमा चार चौका प्रहार गरे । कप्तान रिची बेरिङ्टनले ३२ रन बनाउन ५५ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए ।
यसैगरी, माइकल लेअस्कले २६ बलमा दुई छक्का र एक चौका प्रहार गरी २९ रनको योगदान दिए । ओपनर लिअम नायलरले २० रन जोडे । स्कटल्यान्डविरुद्ध नामिबियाका रुवेनले सर्वाधिक पाँच विकेट लिएका छन् । ९.४ ओभर बलिङ गरेका रुवेनले पाँच विकेट लिन ३० रन खर्चिएका थिए । प्लेयर अफ दी म्याच रुवेनले स्कटल्यान्डका पछिल्ला तीन विकेट आफ्नो नाममा लेखाएका थिए । यसबाहेक टान्गेनी लुङमेनीले दुई विकेट लिन सफल भए ।
नेपाललाई अवसर
नामिबिया स्कटल्यान्डसँग पराजित हुँदा नेपाललाई शीर्ष तीनमा उक्लने मौका जुरेको छ । विश्वकप लिग– २ मा स्कटल्यान्डले ३५ खेलबाट २४ जितसहित ५० अंक जोडेको छ । ३६ खेल खेलेको ओमान २१ जितसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएका छन् ।
अब शीर्ष तीन स्थानका लागि नामिबिया, अमेरिका, युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाल २७ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ । नेपालले नौ खेल खेल्न बाँकी छ । सबै खेलमा जित निकाल्दा नेपाल तेस्रो स्थानमा पुग्नेछ । हारले नेपाल प्लेअफ खेल्नेछ । शीर्ष पाँचमा रहे नेपालले एकदिवसीय मान्यता जोगाउनेछ ।
सिरिज निराशाजनक
नामिबियाका सहायक प्रशिक्षक एलबी मोर्केलले लिग– २ शृंखला निराशाजनक रहेको बताएका छन् । टियू मैदानमा ब्याटिङ चल्न नसक्दा उनी निराश बनेका छन् । ‘नेपालमा हामीले सोचेको भन्दा खेल्न सजिलो भयो । तर, हाम्रो लगातार ब्याटिङ नचल्दा खराब नजिता व्यहोर्न पुग्यौँ,’ उनले भने ।
सहायक प्रशिक्षक मोर्केलले नेपाल भ्रमणमा आफूहरूले यस्तो नतिजाको अपेक्षा नगरेको बताए । ‘हालसम्मकै निराशाजनक रह्यो यो शृंखला, हाम्रो लागि । यस्तो नतिजाको हामीले अपेक्षा गरेका थिएनौँ,’ उनले भने, ‘नामिबियाले ब्याटिङमा राम्रो गर्न नसकेर नै हार व्यहोर्नुपरेको हो । उनले गल्ती सुधार गरेर मात्रै शीर्ष तीनमा पर्ने सम्भावना बाँकी रहेको जनाए ।
