विभागीय टोली सशस्त्रको एपिएफलाई टाइब्रेकरमा स्तब्ध पार्दै ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हेटौँडामा जारी पाँचौँ सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा मनाङले एपिएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो।
खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
मनाङको जितका लागि कप्तान एवं गोलकिपर दीप कार्की नायक बने। उनले एपिएफका दीपेश धिमालको पेनाल्टी रोकेका थिए। यस्तै, एपिएफका सनिस श्रेष्ठको प्रहार गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो।
टाइब्रेकरमा मनाङको तर्फबाट सरोज योञ्जन, बिसन गुरुङ, सैजामोल डाभ्लाटिनोभ र आशिष गुरुङले गोल गर्दा सशस्त्रको तर्फबाट नवीन लामा र सुदीप सिख्रकारले मात्र गोल गरे।
आइतबारको खेलको म्यान अफ दी म्याच मनाङका गोलकिपर दीप कार्की घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
मनाङले उपाधिका लागि सोमबार हुने हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।