सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’लाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन निर्देशन दिए । ‘प्रधानमन्त्री प्रचण्डज्यूको प्रमुख प्राथमिकता भनेको मुलुकमा सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीहरुबाट मात्रै सम्भव हुन्छ, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व मैले गरेको हुनाले यसको मुख्य जिम्मेवारी मेरै काँधमा छ,’ मन्त्री मोदीले भने, ‘सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्य सम्पादनमा लाग्नका लागि म राष्ट्रसेवक कर्मचारीहरूलाई विशेष निर्देशन दिन चाहन्छु ।’

मन्त्री मोदीले कर्मचारीहरूले अब सेवाग्राहीलाई ‘एस अर नो’मा जवाफ दिनुपर्ने बताए । कर्मचारीले सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाउने गरेको गुनासो आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, ‘सेवाग्राहीलाई अब अनावश्यक रूपमा झुलाउने गरेको गुनासो मैले सुनेको छु, अब एस अर नोमा जवाफ दिन र सोहीअनुसार कार्य सम्पादनमा लाग्नका लागि म विशेष आग्रह गर्छु ।’

मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्तबुझ्दो जवाफ दिने परम्पराको थालनी गर्नसमेत निर्देशन दिए । सेवाग्राहीको काम द्रुत गतिमा गर्ने विषयलाई प्राथमिकतामा राख्नसमेत कर्मचारीहरूलाई निर्देशन दिए ।

अर्को प्रसंगमा मन्त्री मोदीले प्रदेश १ चलचित्र क्षेत्रको हबको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । ‘म चाहन्छु, प्रदेश १ चलचित्र क्षेत्रको हबको रूपमा स्थापित होस्, यहाँका विभिन्न क्षेत्रमा विभिन्न जातजातिको पहिचान झल्किने चलचित्रको छायांकन होस्, यसका लागि सरकारको तर्फबाट गर्नुपर्नेमा सहयोगका लागि हामी तयार छौँ,’ मन्त्री मोदीले भने ।

सुझावित समाचार