सांसदलाई कैद माफी, निर्धालाई ‘चिता’

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

आगजनी मुद्दामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिइन् । गत स्थानीय तहको निर्वाचनमा उठेर समयमै खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोक्यो । तर, सरकारकै सिफारिसमा जरिवाना मिनाह भएको छ । तर, इस्मा गाउँपालिका– ५ का ५१ वर्षीय धनबहादुर कुमालले ३० हजार जरिवाना तिर्न नसक्दा कारागारमै ज्यान गुमाए । अझै विडम्बनाको कुरा त मरेपछि ओढ्ने कात्रोसमेत पाएनन् । अन्त्यमा भूगोल र मानवीयताका कारण इस्माली समाजले चन्दा संकलन गरेर दाहसंस्कार गर्याे ।

इस्मा गाउँपालिका– ५ का मित्रलाल भण्डारीको जाहेरीको आधारमा ३ माघ ०७६ मा नकबजनी चोरी अभियोगमा प्रहरीले कुमाललाई पक्राउ गरेको थियो । तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले ५० हजार दुई सय ५० रुपैयाँबराबरको नगद धनमाल चोरी गरेको ठहर गर्दै २२ असार ०७७ मा कुमाललाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए । अदालतको फैसलाको आधारमा ६ माघ ०७९ मा उनी छुट्नुपर्ने थियो । तर, तोकिएको ३० हजार रुपैयाँ बुझाउन नसक्दा उनले थप तीन महिना १० दिन कैद भुक्तान गर्नुपर्ने भयो । नछुट्दै उनले उपचार क्रममा वीर अस्पतालमा ज्यान गुमाए ।

परिवारसँग रुखो बारीबाहेकको सम्पत्ति छैन । श्रीमती अपांग छिन् । कमाउने छोराछोरी पनि परिवारमा छैनन् । यो देश निर्धाको होइन रहेछ ! सरकारले गरिब देख्दैन । गरिबलाई न माफी हुन्छ न जरिवाना छुट । स्थानीय सरकारले परिवार र दाजुभाइ हुँदाहुँदै राज्यको जिम्मामा रहेको कैदी मर्दा बेबारिसे भनेर पत्र लेख्छ । केन्द्रीय सरकारले गुल्मी कारागार हुँदै काठमाडौं पुर्याएको कैदीलाई मृत्युपछि अन्त्येष्टिको लागि गुल्मी पुर्याउन सकेन । कस्तो दुर्भाग्य !

बडिगाड गाउँपालिका– २ का ३५ वर्षीय रेशम राना १८ वर्षदेखि पशुसरह साङ्लोमा बाँधिएका छन् । उदास चेहेरा, लामो कपाल र झुत्रे पहिरनका रेशम साङ्लोमै पीडा र बिमारले चिच्याउँछन् । साङ्लोबाट छुटकारा पाउन बल गर्दा फलाम रगडिएर हातखुट्टाबाट रगत बग्छ । तर, साङ्लोमा बाँधिएको देशको ‘भविष्य’ अर्धचेत भएर लडिरहेको मेरो सरकारले देख्दैन । १८ वर्षदेखि मानसिक समस्याले पीडित रेशमको उपचारका लागि परिवारसँग पैसा छैन । कमाउने उमेरको छोरा बिस्तरामा ढलिरहँदा राना परिवारमा अर्थोपार्जनको विकल्प छैन । ‘अपराध’ छुट हुने देशमा नागरिकको उपचारमा छुट हुँदैन ।

सत्ता र शक्तिको पहुँचमा हुनेहरू उपचारका लागि भारत, सिंगापुरदेखि अमेरिकासम्म पुग्छन् । तर, भुइँमान्छेको अवस्था फरक छ । केही दिनअघि मात्र कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङमा घरनजिकैको वनमा लागेको आगो निभाउने क्रममा १८ वर्षीय नामु भारती र १६ वर्षीय सुमन भारती जलेर जीवनमरणको दोसाँधमा छन् । पाल्पामा उपचार नभएपछि कीर्तिपुर अस्पताल पठाइयो । समस्या बल्झिँदै छ । तर, रकम अभाव भएपछि अहिले चन्दा संकलन गर्नुपर्ने अवस्था छ । ए सरकार ! माफी कसलाई हो ?

See More On

सुझावित समाचार