१२ करोडमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

सप्तरीको कञ्चनरुप नगरपालिका– ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिक निर्माणाधिन १५ शय्याको अस्पतालमा गुणस्तहीन सामग्री प्रयोग भइरहेको पाइएको छ । मूल्य अभिवृद्धि करबाहेक १० करोड ३७ लाख ८० हजार २६० रुपैयाँ लागतमा ठेक्का लागेको भवनमा स्थानीय बान्द्रा खोलालगायतको गुणस्तरहीन बालुवा प्रयोग भइरहेको अनुगमनका क्रममा देखिएको हो ।

शुक्रबार कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल, कार्यापालिका सदस्य शोभा पासवान, जनमत पार्टीका नगरअध्यक्ष अनिल पंजियार, पूर्व वडाअध्यक्ष राजकुमार साहलगायतले निर्माणाधिन भवनहरुको स्थलगत अनुगमन गरेका थिए ।

सामान्य घर निमार्णमा समेत प्रयोग गर्न नमिल्ने बालुवा ठेकेदार कम्पनीले प्रयोग गरिहेको भेटिएको वडा नं ८ का पूर्वअध्यक्ष राजकुमार साहले बताए । कञ्चनरुप नगरपालिकाको प्रशासकीय भवन र अस्पताल लामा रायुस जेभी काठमाडौंले निर्माण गरिरहेको छ ।

आफूले वाल प्लास्टर गर्दा बालुवा पखालेर प्रयोग गर्न सुझाव दिँदा ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सुरज खरेलले खोलाको बालुवा पखाल्न नपर्ने भन्दै गैरजिम्मेवार जवाफ दिएका पूर्ववडाअध्यक्ष राजकुमार साहले बताए । निर्माणस्थलमा ठेकेदारले कुनै बोर्डसमेत नराखेको उनको भनाइ छ ।

मूल्य अभिवृद्धि करबाहेक समपूरक कोषको ८ करोड ५८ लाख ६६ हजार ८०५ रुपैयाँ ६३ पैसामा साढे तीन तल्लाको भवन लामा रायुस जेभी काठमाडौंले निर्माण गरिरहेको छ । नगर उपप्रमुख पोखरेलले निमार्णधिन भवनमा प्रयोग भएको बालुवा र गिटी दुवै गुणस्तरहीन भएको दाबी गरिन् । उनले भनिन्, ‘सामान्य नागरिकले हेरे पनि गुणस्तरहीन सामग्री प्रयोग भएको सजिलै थाहा पाउँछन् । म तत्काल बालुवा र गिटी जाँचका लागि पठाउँछु ।’

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सुरज खरेल भने  गुणस्तरीय काम भइरहेको दाबी गर्छन् । उनले भने, ‘स्थानीय स्तरमा उपलब्ध बालुवा नै प्रयोग गरिएको छ,  तर काम राम्रो छ ।’ उनले निमार्णस्थलमा बोर्ड नराख्नु भने आफ्नो गल्ती भएको स्वीकार गरे ।

सुझावित समाचार