विश्वकप क्रिकेट लिग- २ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै छ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ थालेको छ ।

नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलोपटक खेल्न लागेको हो । स्कटल्यान्ड विनादबाब मैदानमा उत्रनेछ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग– २ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अंक जोडिसकेको छ।

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अंक मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग– २ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

स्कटल्यान्डविरुद्ध आज खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।     

   
 

सुझावित समाचार