प्रदेश १ का अधिकांश पहाडी जिल्ला अस्पतालमा कोरोनाकालमा संघीय सरकारले भेन्टिलेटर खरिदका लागि बजेट पठायो । जिल्ला अस्पतालले भेन्टिलेटर पनि खरिद गरे, तर ती भेन्टिलेटर अलपत्र छन् । भेन्टिलेटर भएर पनि अस्पतालले प्रयोगमा ल्याउन सकेका छैनन् । जिल्ला अस्पतालले भेन्टिलेटर प्रयोगमा ल्याउन नसक्नुको कारण भने दक्ष जनशक्ति नभएको जनाएका छन् । भेन्टिलेटर सञ्चालन नहुँदा पहाडी जिल्लाका बिरामी तराईका जिल्लामा आउनुपर्ने बाध्यता छ ।
०००
पाँचथरको अस्पतालका लागि कोरोनाकालमा संघीय सरकारको बजेटबाट चारवटा भेन्टिलेटर खरिद भयो, तर ती भेन्टिलेटर प्रयोगविहीन छन् । जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको पाँचथर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापाले बताए । ‘भेन्टिलेटर आवश्यक पर्ने एक–दुई बिरामी त आउँछन्, तर तत्काल प्रयोगमा ल्याउन सकेका छैनौँ । प्रयोगमा ल्याउने प्रक्रियामा छौँ । जनशक्ति नभएरै चलाउन सकेका छैनौँ । भेन्टिलेटर चलाउँदा विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, नर्सलगायतको १५–२० जनाको टिम नै चाहिन्छ,’ उनले भने, ‘अहिलेको अवस्थाबारे अस्पताल विकास समिति परिचित छ, तर स्रोत व्यवस्थापन गर्न गाह्रो छ । सबै पालिकाले बजेट विनियोजन गरे सञ्चालनमा सहज हुने थियो ।’
कोरोनाकालमा इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर आए । त्यस समयमा एकजना कोरोनाका गम्भीर बिरामीलाई भेन्टिलेटरको माध्यमबाट उपचार गरियो । तर, अहिले भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । ‘हामीसँग भेन्टिलेटर चलाउने क्षमता नै छैन । विशेषज्ञ डाक्टर र नर्सिङ स्टाफसहित १५ जनाको टिमविना चल्दैन,’ इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु साहले भने, ‘हामीसँग जनशक्तिको अभाव छ ।’
धनकुटा अस्पतालमा कोरोनाको समयमा चारवटा भेन्टिलेटर खरिद गरियो । तर, गम्भीर बिरामी पर्दासमेत धनकुटा अस्पतालले भेन्टिलेटरमा राखेर बिरामी उपचार गर्न सकेको छैन । एनेस्थेसिया डाक्टर नहुँदा अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले जानकारी दिए । ‘भएका भेन्टिलेटर पनि सञ्चालन गर्न सकिएन । एनेस्थेसिया डाक्टर छैनन् । हामीले डाक्टर माग गरेको थियौँ । एकजना एनेस्थेसिया करारका डाक्टर धनकुटा आउने भनेर पत्र लिए, तर उनी पनि आएनन्,’ उनले भने, ‘हामीले जनशक्ति अभावमा आइसियू चलाउन सकेनौँ । भेन्टिलेटर र आइसियू नहुँदा गम्भीर बिरामी धरान पठाउनुपर्ने बाध्यता छ ।’
तेह्रथुम अस्पतालमा दुईवटा भेन्टिलेटर छन्, तर प्रयोगविहीन अवस्थामा थन्किएका छन् । जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालन गर्न नसकिएको तेह्रथुम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पंकज गुप्ताले बताए । ‘जनशक्ति व्यवस्थापन संघीय सरकारले नै गरिदिनुपर्छ, हामीले राख्न पाउँदैनौँ । जनशक्ति नहुँदा भेन्टिलेटर चलाउन सकेका छैनौँ,’ उनले भने, ‘इमर्जेन्सी बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ । यस्ता बिरामीलाई हामी रेफर नै गरिरहेका छौँ । भेन्टिलेटर सेटअप भए धेरै राम्रो हुन्थ्यो ।’
जिल्ला अस्पताल खोटाङमा एउटा बच्चाका लागि (पिडिएट्रिक) भेन्टिलेटर कोरोनाकालमा आएको थियो । तर, अहिले त्यो भेन्टिलेटर सञ्चालनमा छैन । ‘हामी नयाँ भवन बनाउँदै छौँ । पुरानो भवनमा राख्ने ठाउँ छैन,’ खोटाङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेश परियारले भने, ‘त्यसकारण सञ्चालन गर्न सकेका छैनौँ ।’
जिल्ला अस्पताल भोजपुरमा चारवटा भेन्टिलेटर छन्, तर तीन प्रयोगविहीन छन् । जनशक्ति अभावका कारण अस्पतालमा रहेको भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिवजी रिजालले जानकारी दिए । ‘भेन्टिलेटर चारवटा छन् । एनेस्थेसियाको डाक्टर नभएर सञ्चालनमा आउन सकेको छैन,’ उनले भने, ‘एनेस्थेसियाको डाक्टर भए अरू मेडिकल असिफर, नर्सहरूलाई तालिम दिने पाटो त छँदै छ ।’
सोलुखुम्बु अस्पतालमा पनि दुईवटा भेन्टिलेटर छन् । कोरोनाको समयमा आइसियू सञ्चालनका लागि एउटा संघीय सरकारले दिएको हो भने अर्को दातृ निकायले दिएको हो । तर, दुवै प्रगोगविहीन अवस्थामा थन्किएका छन् । ‘दुईवटा भेन्टिलेटर प्रयोगविहीन छन् । हाम्रो १५ बेडको मात्र अस्पताल हो । आइसियूका लागि जनशक्ति हुँदैन, तसर्थ चलाउन सकेका छैनौँ,’ अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले भनिन्, ‘कोभिडको समयमा चाहिँ हामीले चलाएका थियौँ । अहिलेचाहिँ जनशक्ति नभएका कारण सञ्चालन गर्न सकिएको छैन । जनशक्ति नभएका कारण आइसियू चलाउन सकेका छैनौँ । आइसियू नभएपछि भेन्टिलेटर सञ्चालनमा छैन ।’
ओखलढुंगा अस्पतालमा पनि दुईवटा भेन्टिलेटर प्रयोगविहीन छन् । कोरोनाको समयमा संघीय सरकारले पठाएका बजेटबाट खरिद गरिएको दुईवटा भेन्टिलेटर जनशक्ति अभावका कारण प्रयोगमा ल्याउन नसकिएको ओखलढुंगा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जीवनारायण मण्डलले जानकारी दिए । जनशक्ति यसै पनि न्यून हुन्छ । दरबन्दीअनुसार जनशक्ति छैनन्,’ उनले भने, ‘विशेषज्ञ डाक्टर आउन मान्दैनन् । त्यसकारण भेन्टिेलेटर प्रयोग गर्न सकिएको छैन ।’
संखुवासभामा चारमध्ये दुई सञ्चालनमा, दुई अलपत्र
संखुवासभामा रहेको ५० शड्ढयाको जिल्ला अस्पतालमा चारवटा भेन्टिलेटर छन् । तर, हाल दुईवटा मात्र प्रयोगमा छन् । कोरोनाकालमा अस्पतालमा पाँचवटा शड्ढयाको सघन उपचार (आइसियू) सञ्चालन गरिएको थियो । सघन उपचारको सामान खरिद र भेन्टिलेटर खरिद गर्नका लागि संघीय सरकारबाट अनुदान रकम तीन करोड रुपैयाँ विनियोजन भएको थियो ।
उक्त बजेटबाट अस्पतालले दुईवटा भेन्टिलेटर खरिद गर्यो भने संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले दुईवटा भेन्टिलेटर सहयोग गर्यो । अस्पतालले खरिद गरेको दुईवटा भेन्टिलेटर सञ्चालनमा छ भने दाताले दिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा अलपत्र रहेको जिल्ला अस्पताल संखुवासभाका कार्यालय प्रमुख निर्मिका राईले बताइन् । उनले अरुण तेस्रोले दिएको भेन्टिलेटर सञ्चालनमा ल्याउन खोजिए पनि समस्या आएकाले नसकिएको बताइन् । ‘आइसियू सुरु हुनुभन्दाअघि नै हामीले भेन्टिलेटर अरुण तेस्रो जलविद्युत् आयोजनाबाट पायौँ । सुरुमा जनशक्ति नभएकाले हामीले चलाएनौँ । पछि सञ्चालन गर्न खोज्दा भेन्टिलेटर चलेन,’ उनले भनिन्, ‘यसबारे हामीले दाता अरुण तेस्रो जलविद्युत् आयोजनालाई जानकारी पनि गरायौँ ।’ अरुण तेस्रोले भने भेन्टिलेटर दिएको एक वर्षसम्म पनि सञ्चालन नहुँदा खरिद गरिएको कम्पनीलाई जानकारी दिन समस्या भएको जनाएको छ ।