लिंकन र रिसाहा अधिकारी

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

गर्मी निकै चर्को थियो । एउटा ठूलो र गह्रुंगो यन्त्र गाडीमा चढाउनुपर्ने जिम्मेवारी थियो । तर, मजदुर निकै कम थिए । उनीहरू पसिनैपसिनामा डुबेर काम गरिरहेका थिए । यन्त्र निकै गह्रुंगो भएकाले जतिसुकै प्रयत्न गरे पनि मजदुरहरू सफल भइरहेका थिएनन् । नजिकै केही अधिकारी छाता ओढेर कुर्सीमा आरामपूर्वक बसिरहेका थिए ।

उनीहरू मजदुरलाई त्यसो होइन, यसो गर भनेर हप्कीदप्कीसाथ निर्देशन दिइरहेका थिए । तर, उनीहरू मजदुरलाई काममा सहयोग भने गरिरहेका थिएनन् । 

त्यति नै वेला त्यही बाटो हुँदै एक घोडसवार र उनका केही साथी कतै जाँदै थिए । मजदुरको परिश्रम देखेर उनी घोडाबाट ओर्लिए र मजदुरलाई सहयोग गर्न पुगे । उनका साथीहरू पनि सक्दो मद्दतमा जुटे । सबैको मिहिनेत सफल भयो । उनीहरू यन्त्रलाई गाडीमा चढाउन सफल भए ।

यन्त्र गाडीमा चढाइसकेपछि ती घोडसवार त्यहाँ कुर्सीमा बसेर उनीहरूले गरेको काम हेरिरहेका अधिकारीनिकट पुगे र विनम्रतापूर्वक भने– महाशय, आगामी दिनमा पनि गाडीमा कुनै गह्रुंगो यन्त्र चढाउनुपर्यो भने आफ्नो देशको राष्ट्रपतिलाई सम्झिनुहोला, ऊ यसैगरी हाजिर हुनेछ । 

यथार्थमा मजदुरलाई सहयोग गर्ने घोडसवार अरू कोही नभई अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकन थिए । राष्ट्रपतिको चिनारी पाएपछि लज्जित भई ती अधिकारीले लिंकनसमक्ष माफी मागे ।

सुझावित समाचार