रसुवाका तत्कालीन भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्रोत नखुलेको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध दुई करोड १० लाख १० हजार चार सय ८२ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको हो । 

अख्तियारले १ साउन ०४३ मा सार्वजनिक सेवा प्रवेश गरेका केसीको ३० असार ०७८ सम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । उनीसँग पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता, पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा आय, स्वआर्जित घरबहाल आय, पैत्रिक घरबहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बिमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी सम्पूर्ण वैधानिक आम्दानी जोड्दा कुल तीन करोड ५१ लाख १६ हजार रहेको अख्तियारको दाबी छ । 

यो अवधिमा आर्जित वैधानिक आम्दानीको तुलनामा खर्च बढी देखिएको थियो । घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, सगोलमा रहँदा नै जग्गा खरिद गर्दा केसीको भागमा पर्न आउने खर्च, छोराछोरीहरूको अध्ययन खर्च, सञ्चय कोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, सेयर खरिद, सवारीसाधन तथा सुन खरिदमा भएको खर्च, निजी भ्रमण तथा औषधोपचारमा भएको खर्च र बैंक मौज्दातसमेत गरी सम्पूर्ण व्यय (खर्च तथा लगानी) कुल पाँच करोड ६१ लाख २६ हजार पाँच सय देखिएको छ । 

‘निजको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड १० लाख १० हजार चार सय ८२ को वैधानिक स्रोत पुष्टि हुन नसकेकाले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ...,’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । वैधानिक स्रोत पुष्टि हुन नसकेको सोही रकमलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दर्ता गरिएको हो । 

सुझावित समाचार