दुईपटकको उपाधि विजेता टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सशस्त्रको एपिएफ क्लब पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा सशस्त्रका गोलरक्षक राजु नगरकोटी नायक बने। उनले आर्मीको दुईवटा प्रहारलाई रोक्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याएका हुन्। नगरकोटीले आर्मीका कप्तान नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार रोकेका थिए।

आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवासको प्रहार गोलमा परिणत हुँदा एपिएफका नवीन लामा, सुदीप शिख्राकार, दीपेश घिमाल र सनिस श्रेष्ठले गोल गरेका थिए। यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
खेलमा दुवै टिमले गोल गर्ने केही राम्रो मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको म्यान अफ दी म्याच एपिएफका गोलरक्षक राजु नगरकोटी भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी शुक्रबार घरेलु टोली मकवानपुर ११ ले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।