वाणिज्य विभागद्वारा ८२ लाख रुपैयाँको उपभोग्य मिति सकिएको बियर जफत

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

प्रमुख अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति सकिएका विभिन्न ब्रान्डका बियर ठूलो मात्रामा जफत गरेको छ । विभागले मंगलबार र बुधबारको अनुगमनबाट काठमाडौंका विभिन्न मदिरा पसल तथा गोदामबाट ८२ लाख ६५ हजार रुपैयाँभन्दा बढी मूल्यको दुई हजार सात सय ५७ कार्टुन विभिन्न ब्रान्डका बियर जफत गरेको जनाएको छ ।

विभागको अनुगमन टोलीले बुधबार दिउँसो सिनामंगलस्थित संस्कार ट्रेडर्स प्रालिको गैरीगाउँस्थित गोदामबाट विभिन्न ब्रान्डका तीन सय ५५ कार्टुन मिति सकिएका बियर बरामद गरेको जनाएको छ । 

जफत गरिएको बियरको बजार मूल्य १३ लाख ९० हजार रुपैयाँ रहेको विभागले जनाएको छ । त्यस्तै, बुधबार नै खटिएको अर्को अनुगमन टोलीले सिनामंगलस्थित सिके ट्रेडिङ प्रालिको गोदामबाट थप तीन सय दुई  कार्टुन विभिन्न ब्रान्डका बियर जफत गरेको छ । जफत गरिएको बियरको बजार मूल्य आठ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

‘बुधबारको अनुगमन टोलीले दुईवटा गोदामबाट सिलबन्दी गरिएको बियरको मूल्य करिब २२ लाख ६५ हजार रुपैयाँ पर्ने देखिन्छ,’ विभागका निरीक्षण अधिकृत कमलप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसअघि गत मंगलबार धुम्बाराहीस्थित क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदामबाट दुई हजार एक सय कार्टुन मिति सकिएको ६० लाख रुपैयाँभन्दा बढीको बियर जफत गरेको विभागले जनाएको छ । विभागका प्रवक्ता होमना भट्टराईले भोजभतेर र रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरहरू आपूर्ति हुने गरेको सूचनाका आधारमा अनुगमन गर्दा ठूलो मात्रामा मिति सकिएको बियर बरामत भएको जानकारी दिए ।

‘भोजभतेर र रात्रिकालीन व्यवसायमा मिति सकिएका बियर तथा अन्य हल्का पेय पदार्थको कारोबार हुने गरेको हामीलाई सूचना आएको थियो । त्यसका आधारमा कारोबारस्थल र आपूर्तिकर्ता/डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षण कार्यलाई विशेष महत्वका साथ अगाडि बढाइरहेका छौँ,’ भट्टराईले भने ।

See More On

सुझावित समाचार