नेपालमा पहिलोपटक आएको स्कटल्यान्ड तीन खेलअघि नै आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार नामिबियालाई १० विकेटले हराउँदै स्कटल्यान्ड च्याम्पियन बनेको हो । सात देश सम्मिलित लिग–२ मा स्कटल्यान्ड ३३ खेलमा ४८ अंक जोड्दै शीर्ष स्थानमा छ । अबको दुई खेलमा पराजित भए पनि स्कटल्यान्डलाई अन्य टोलीले पछ्याउन सक्दैनन् । लिग–२ मा सबै ३६ खेल खेलिसकेको ओमानले ४४ अंक जोडेको छ । स्कटल्यान्डले ओमानसँग चार अंकको अग्रता लिएको छ ।
नामिबिया ३२ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलबाट ३५ अंक जोडेर चौथो स्थान र युनाइटेड अरब इमिरेट्स (युएई) २६ खेलबाट २७ अंकसहित पाँचौँ स्थानमा छन् । छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोडेको छ । लिगको शीर्ष तीन स्थानमा रहने टोलीले एकदिवसीय विश्वकपमा सीधै प्रवेश पाउनेछन् । बाँकी टोलीले प्लेअफ खेल्नुपर्नेछ ।
एक सय ५३ रनमा नामिबिया अलआउट
पहिलो खेलमा नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको नामिबियाले स्कटल्यान्डको धारिलो बलिङसामु ठूलो स्कोर बनाउन सकेन । टस हारेर ब्याटिङ गर्न आएको नामिबिया ३९.२ ओभरसम्म क्रिजमा टिक्यो । नामिबियाका ओपनर हान्द्रे लरेन्सले अर्धशतकीय इनिङ्स खेलेका थिए । ८८ बलको सामना गरेका हान्द्रेले पाँच चौकासहित ५४ रन जोडेका थिए ।
मध्यक्रमका ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । कप्तान इरास्मुस र जान निकोल इस्टन शून्यमा पेभिलियन फर्किए । मध्यक्रमका स्चोल्टजले ३९ बलमा ३० रन जोडेका थिए । विकेटकिपर तथा ब्याट्सम्यान जान ग्रिनले २५ र पिके फ्रान्सले ११ रनको योगदान गरे । नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका माइकल भान लिन्गेन चार रनमा आउट भएका थिए ।
माइकलको चार विकेट
नामिबियालाई सस्तै योगफलमा समेट्ने क्रममा स्कटल्यान्डका माइकल लेआस्कले सर्वाधिक चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका माइकलले एक मेडन राख्दा २४ रन मात्रै खर्चिएका थिए । ९ ओभर बलिङ गरेका मार्क वाट तथा आठ ओभर बलिङ गरेका साफ्यान सारिफले समान तीन विकेट लिएका थिए । नामिबियाको पहिलो विकेट ५.२ ओभरमा झरेको थियो । इनिङ्सको १०औँ ओभरमा नामिबियाले महत्वपूर्ण विकेट गुमाएको थियो ।
१०.५ ओभरमा अघिल्लो खेलमा शतकीय इनिङ्स खेलेका भान लिंगेन आउट भए । अर्को बलमा इरामुस आउट भए । नामिबियाले पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ७९ रन मात्र जोडेको थियो । सो इनिङ्समा लाउरेन्स र बर्नान्ड ग्रिनबिचबीच सातौँ विकेटका लागि ४३ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नामिबियाको इनिङ्समा एक मात्र छक्का बर्नान्डले प्रहार गरेका थिए । दुईजना ब्याट्सम्यान डकआउट भए ।
मुन्सईको विस्फोटक शतक
त्रिवि मैदानमा दोस्रोपटक पहिलो ब्याटिङ गर्न अवसर पाएको नामिबिया ३९.२ ओभरमा एक सय ५३ रनमा अलआउट भयो । प्रत्युत्तरमा स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाएर एक सय ५७ रन जोडेको थियो । स्कटल्यान्डको जितमा ओपनर जर्गे मुन्सईले विस्फोटक शतकीय इनिङ्स खेलेका थिए ।
उनले ६१ बलको सामना गरी एक सय तीन रन बनाए । यसक्रममा मुन्सईले १२ चौका र सात छक्का प्रहार गरे । मुन्सईलाई ओपनिङमा साथ दिएका केलल कोएट्जरले ७२ बलमा ४६ रनको योगदान दिए । उनले सात चौका प्रहार गरेका थिए । बलिङमा ब्रर्नाड खर्चिलो देखिए । उनले तीन ओभर बलिङ गर्दै ३८ रन खर्चिका थिए । यसैगरी, सिमर वेन सिकोन्गोले चार ओभरमा ३९ रन खर्चे । नामिबियाको बलिङ इनिङ्समा रुवेन र लुन्गामेनीले प्रतिओभर चार रन मात्र खर्चेका थिए । नामिबियाले सातजना बलर स्कटल्यान्डविरुद्ध प्रयोग गरेको थियो ।
