नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुष्करराज पन्त नेपालको पहिलो इन्टरनेसनल टेक्निकल अफिसियल (आइटिओ) बनेका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए)ले गत १८ देखि २२ जनवरीसम्म थाइल्यान्डको बैंककमा सञ्चालन गरेको आइटिओ परीक्षामा पन्त उत्तीर्ण भएका हुन् । बैंककको ह्वामार्क इन्डोर स्टेडियममा १७ देखि २७ जनवरीसम्म एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आइबिएले आइटिओ परीक्षा पनि सञ्चालन गरेको थियो ।
यसैगरी, आइबिएद्वारा सञ्चालित आइवा २ स्टार रेफ्री जज कोर्समा बागमती प्रदेश बोर्ड सदस्य धनकुमार मैनाली २ स्टार परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बनेका छन् । पन्त र मैनालीले सन् २०१९ मा नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङ खेलको रेफ्री तथा जजको भूमिकासमेत निर्वाह गरेका थिए ।
आइटिओ कुनै पनि अन्तर्राष्ट्रियस्तरका बक्सिङ प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय बक्सिङ संघद्वारा सञ्चालित परीक्षा (सर्टिफिकेसन कोर्स) पास गर्न सफल अफिसियल हुन् । अहिलेसम्म कुनै पनि नेपाली आइटिओ परीक्षा पास गर्न सफल भएका थिएनन् । बक्सिङ प्रतियोगिताहरूलाई निष्पक्ष एवं पारदर्शी ढंगले सञ्चालन गर्न आइबिएले समय–समयमा नीति नियमसँगै निर्देशिका बनाएर परीक्षाको सञ्चालन गर्ने गर्छ ।
बैंककमा एसियाली मुलुकबाट नेपाल, इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, कजाकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, आयोजक थाइल्यान्ड र उज्वेकिस्तानका २२ जना सहभागी आइटिओहरू सहभागी थिए । यसैगरी, आइबिएले सञ्चालन गरेको २ स्टार रेफ्री जज परीक्षामा नेपालसहित विभिन्न देशबाट १६ जना परीक्षार्थी सहभागी रहेका थिए । परीक्षामा उत्तीर्ण हुन लिखित तथा प्रयोगात्मक परीक्षामा कुल ८० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।