महँगी, तरलता अभावलगायतका कारण आर्थिक गतिविधिमा संकुचन आएपछि डिजिटल माध्यमबाट हुने कारोबार पनि घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ सम्म डिजिटल माध्यमबाट हुने भुक्तानी बढ्दै गएको थियो । तर, चालू आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्म डिजिटल माध्यमबाट भएको कुल भुक्तानी घटेको हो ।
चालू आवको पुस मसान्तसम्म २७० खर्ब १० अर्बबराबरको डिजिटल भुक्तानी भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ०.५४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा २७१ खर्ब ५७ अर्बबराबरको डिजिटल भुक्तानी भएको थियो ।चालू आवको साउनदेखि मंसिरसम्म डिजिटल भुक्तानी मासिक रूपमा नै निरन्तर घट्दै आएको छ । यद्यपि, पुसमा भने सामान्य रूपमा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
ग्राहक संख्याका आधारमा भने गत आवको तुलनामा यो बर्ष ३० प्रतिशत बढेको छ । चालू आवका पहिलो ६ महिनासम्म पाँच करोड १४ लाख डिजिटल पेमेन्टका ग्राहक रहेका छन् । गत आवको पहिलो ६ महिनामा यस्तो ग्राहक संख्या करिब चार करोड थियो । डिजिटल पेमेन्टका विभिन्न माध्यमअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, वालेट, कनेक्ट आइपिएसलगायतका रहेका छन् ।
गत आवको असारमा मात्रै डिजिल माध्यमबाट ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँबराबरको भुक्तानी भएको थियो । यो मासिक डिजिटल भुक्तानीमा हालसम्मकै उच्च हो । त्यसपछि चालू आवको पहिलो महिना साउनमा डिजिटल भुक्तानी घटेर ५६ खर्ब ८८ अर्बमा सीमित भयो । त्यसपछिका हरेक महिनामा निरन्तर घट्दै मंसिरसम्म आउँदा ३६ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको थियो । त्यसपछि पुसमा भने सामान्य बढेर त्यो ४१ खर्ब ४६ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
चालू आवको असोज, कात्तिक, मंसिर र पुसमा त गत आवको सोही महिनाको तुलनामा पनि कम डिजिटल भुक्तानी भएको छ । तथ्यांकअनुसार ०७८ असोजमा ४७ खर्ब पाँच अर्ब, कात्तिकमा ४९ खर्ब ३१ अर्ब, मंसिरमा ४८ खर्ब ४५ अर्ब र मंसिरमा ५१ खर्ब ४१ अर्बबराबरको डिजिटल भुक्तानी भएको थियो । तर, चालू आवको असोजमा ४६ खर्ब पाँच अर्ब, कात्तिकमा ३९ खर्ब ४६ अर्ब, मंसिरमा ३६ खर्ब ९७ अर्ब र पुसमा ४१ खर्ब ४५ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको तथ्यांक छ । यसरी पछिल्लो चार महिनामा गत आवको सम्बन्धित महिनाको तुलनामा पनि डिजिटल भुक्तानी घटेको देखिन्छ । यद्यपि, साउन र भदौमा डिजिटल भुक्तानी भने गत आवको सोही महिनाको तुलनामा बढी रहेको तथ्यांकमा उल्लेख छ ।
तर, राष्ट्र बैंकका अधिकारीहरूले भने औपचारिक तथा अनौपचारिक रूपमा डिजिटल कारोबार बढ्दै गएकाले नगद प्रवाह कम भएको बताउँदै आएका छन् । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल माध्यमबाट हुने कुल भुक्तानी रकममा केही कमी आएको बताए । ‘यद्यपि, रिटेल डिजिटल भुक्तानीमा कमी आएको छैन । मोबाइल बैंकिङ, वालेटलगायतका व्यक्तिले प्रयोग गर्ने माध्यमबाट हुने भुक्तानी बढेको छ,’ उनले भने, ‘तर, आरटिजिएसलगायतका माध्यमबाट हुने ठूलो रकमको भुक्तानीमा भने कमी आएको छ । फलस्वरूप समग्र डिजिटल भुक्तानीमा कमी देखिएको हो ।’
विशेष गरी पछिल्लो समय महँगी, तरलता अभावलगायतका कारण आर्थिक गतिविधि बढ्न सकेको छैन । यसरी आर्थिक गतिविधि कम भई व्यापार–व्यवसाय नहुँदा डिजिटल भुक्तानी पनि प्रभावित भएको उनको भनाइ छ । यस्तै, ठूला–ठूला कम्पनीले गर्नुपर्ने भुक्तानी, अन्तरबैंक कारोबारलगायत ठूलो रकममा गरिने भुक्तानी आरटिजिएस (रियल टाइम ग्रोस सेटलमेन्ट)मार्फत हुन्छ । तर, पछिल्लो समय तरलता अभाव हुने, आर्थिक संकट हुनेलगायतका कारणले ठूला–ठूला वित्तीय कारोबार त्यति हुन सकेका छैनन् । फलस्वरूप समग्र डिजिटल भुक्तानी प्रभावित भएको राष्ट्र बैंकको भनाइ छ ।
गत आवको पुसमा मात्रै आरटिजिएसमार्फत ३६ खर्ब ८० अर्ब ४६ रुपैयाँ भुक्तानी भएको थियो । तर, चालू आवको पुसमा त्योभन्दा २७ प्रतिशत कम अर्थात् २७ खर्ब रुपैयाँबराबरको भुक्तानी आरटिजिएसमार्फत भएको छ । यस्तै, इलोक्ट्रोनिक चेक क्लियरेन्स (इसिसी)मार्फत हुने भुक्तानी ३० प्रतिशतले घटेको छ । गत आवको पुसमा मात्रै इसिसीमार्फत सात खर्ब ६५ अर्ब रुपैयाँको भुक्तानी भएको थियो । यो पुसमा भने पाँच खर्ब ३७ अर्बबराबरको भुक्तानी इसिसीमार्फत भएको छ ।
यस्तै, पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगी पनि बढ्दै गएको छ ।
अनलाइनमार्फत हुने अधिकांश ठगी मोबाइल बैंकिङ, डिजिटल वालेटलगायतका माध्यमबाट भएका छन् । यहीबीचमा अनलाइन ठगीका ठूला–ठूला घटना पनि बाहिरिएका छन्, त्यसकारण पनि डिजिटल भुक्तानीमा कमी आएको हुन सक्ने नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जीव सुब्बा बताउँछन् । ‘यद्यपि, यसका कारणले पनि डिजिटल भुक्तानी प्रभावित भयो भनेर आधिकारिक अध्ययन तथा पुष्टि भइसकेको छैन । तर, यस्ता घटनाले पनि डिजिटल भुक्तानी प्रभावित भएका हुन सक्छन्,’ उनले भने ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेशमानसिंह प्रधानले पनि डिजिटल भुक्तानीमा कमी आएको बताए । विशेष गरी आर्थिक गतिविधिमा संकुचन आउँदा डिजिटल भुक्तानीमा कमी आएको उनको भनाइ छ । ‘आर्थिक गतिविधि नै व्यापाक मात्रामा नभएका कारण डिजिटल भुक्तानीमा कमी आएको हो,’ उनले भने, ‘यदि मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, डिजिटल वालेटलगायतका माध्यमबाट हुने भुक्तानीमा घटेको छैन । तर, त्यसको वृद्धिदरमा भने ह्रास आएको छ ।’
ठूलो रकम भुक्तानीमा कमी आएको छ
गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक
डिजिटल माध्यमबाट हुने कुल भुक्तानी रकममा केही कमी आएको छ । यद्यपि, रिटेल डिजिटल भुक्तानीमा कमी आएको छैन । मोबाइल बैंकिङ, वालेटलगायतका व्यक्तिले प्रयोग गर्ने माध्यमबाट हुने भुक्तानी बढेको छ । तर, आरटिजिएसलगायतका माध्यमबाट हुने ठूलो रकमको भुक्तानीमा भने कमी आएको छ । फलस्वरूप समग्र डिजिटल भुक्तानीमा कमी देखिएको हो ।
