\'नामिबियाविरुद्ध रोमाञ्चक जित निकालेपछि खेलाडीको मनोबल बढ्यो\'

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन्। 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाको खेलमा २ विकेटको रोमाञ्चक जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताएका हुन्। 

उनले लिग–२ मा सबै ठूलो लक्ष्य २ सय ८६ रन पूरा गर्दै इतिहास रचेकोमा खुसी पनि व्यक्त गरे। यो जितपछि खेलमा लय मिलेको र आगामी दिन यस लयलाई निरन्तरता दिनुपर्ने बताउँदै अभ्यासको क्रममा बनाएका रणनीतिलाई अवलम्बन गर्दा सफलता मिलेको बताए। 

डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै मिलेको कप्तान रोहितले बताए। स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी पनि खेले। 

कुशलको करियरमा पहिलो शतकीय पारी हो भने उनले ट्वान्टी–२० र एक दिवसीय खेलमा शतक पूरा गर्ने तेस्रो खेलाडी पनि बनेका छन्। 

शतक प्रहार गर्दै इतिहास बनाएका कुशलले खेलपछिको पत्रकार सम्मेलनमा खुसी रहेको प्रतिक्रिया दिए। लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए। 

नेपाली टोलीको एक दिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोसिस गरेको भन्दै कुशलले ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए।

त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले स्कटल्यान्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्नेछ। बुधबार नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ। 

सुझावित समाचार