नेपाल दुई विकेटले विजयी, नामिबिया निराश

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । 

पहिलो खेलमा नेपालले नामिबियाले दुई विकेटले पराजित गर्यो । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालको जितमा ब्याटर कुशल भुर्तेल र बलर करण केसी नायक सावित भए । कुशलले एक सय १५ रन बनाए । ओपनिङ ब्याटिङमा आएका कुशल ४८औँ ओभरमा लक्ष्य भेट्टाउन तीन रन मात्र बाँकी हुँदा आउट भए । 

एक सय १२ बलको सामना गरेका उनले चार छक्का र दश चौका प्रहार गरे । उनले आज करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरे । 

१२ बलमा २० रन बनाएर करण केसी अविजित रहे भने एक बल सामना गरेका सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई जित दिलाए । 

ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रनको योगदान दिए । तीन छक्का र सात चौका प्रहार गरेका रोहित ड्रिंक्स ब्रेकलगत्तै ३४औँ ओभरको पहिलो बलमा कट एन्ड बोल्ड भए ।  

आफ्नो दोस्रो ओडिआई खेलिरहेका सन्दीप जोराले सेलेक्सनलाई सही सावित गर्दै २४ बलमा २८ रन बनाए । यसक्रममा उनले एक छक्का र तीन चौका प्रहार गरे । 

नेपालले पहिलो ओभरमै ओपनर ब्याटर आसिफ शेखलाई गुमाएको थियो । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि इनिङलाई ठूलो स्कोरमा बदल्न सकेनन् । ३५ बल खेलेका ज्ञानेन्द्र २५ रन बनाई आउट भए । 

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ७, कुशल मल्ल ६ सन्दीप लामिछाने सून्य रनमा आउट भए । 

त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि नामिबिलयाले ब्याटिङ थालेको थियो । 

बलिङमा करणले पाँच विकेट लिए भने झन्डै ६ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका सन्दीपले तीन विकेट लिए । सोमपाल र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो । 

५० ओभरमा अलआउट हुँदै नामिबियाले दुई सय ८५ रन बनाएको थियो । नामिबियाका लागि एक सय ३७ बल सामना गरेका माइकल भानले नौ चौका र पाँच छक्कको सहयोगमा एक सय ३३ रन बनाए । 

सुझावित समाचार