सवारीधनीलाई थाहै नदिई अर्कैको नाममा माेटरसाइकल नामसारी

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

यातायात व्यवस्था कार्यालय पर्साको सवारी दर्ता तथा नवीकरण शाखाले सवारीधनीलाई थाहै नदिई उनको सवारी अर्को व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ ।

एक महिनाअघि यातायातका कर्मचारीले वीरगन्ज महानगरपालिका– १७ अलौका धर्मेन्द्र उपाध्यायको नाममा रहेकोे ना.३५प ८८४४ नम्बरको पल्सर मोटरसाइकल उनको हस्ताक्षरविना नै चितवनका एक व्यक्तिको नाममा नामसारी गरेको फेला परेको हो । मोटरसाइकल खरिद–बिक्री गर्ने वीरगन्ज– ९ रानीघाटका सञ्जीव सर्राफसँगको मिलोमतोमा यातायातका कर्मचारीले धर्मेन्द्रको मोटरसाइकल अर्कै व्यक्तिलाई नामसारी गरेका हुन् ।

सवारीधनी धर्मेन्द्रले करिब १० महिनाअघि वीरगन्जका सञ्जीवलाई ७० हजारमा मौखिक रूपमा मोटरसाइकल बिक्री गरेका थिए । सञ्जीवले सोही दिन धर्मेन्द्रलाई ६० हजार दिएका थिए । धर्मेन्द्रले बाँकी रकम पाएपछि नै मोटरसाइकल नामसारी गरिदिने बताएका थिए । तर, मोटरसाइकल खरिद गरेका सञ्जीवले बाँकी रकम नदिई माघ २९ गते नामसारी भएको कागजात धर्मेन्द्रलाई पठाए ।

सवारीधनी धर्मेन्द्रले आफ्नो नामको सवारी जालसाजी गरेर अर्कैको नाममा गरिदिने कर्मचारी र खरिद गर्ने व्यक्तिविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । उजुरीपछि प्रशासनले यातायात कार्यालयको सवारी दर्ता तथा नवीकरण शाखालाई पत्र लेखेर उक्त कार्यालयको रजिस्टर झिकाउन निर्देशन दिएको छ ।

शाखाका प्रमुख उमेश रेग्मीले केही दिनअघि तल्लो तहका कर्मचारीले सवारीधनीको अनुमतिबेगर अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएको सूचना पाएको प्रतिक्रिया दिए । यो विषय गम्भीर रहेको भन्दै उनले कार्यालयका कर्मचारीहरूसँग आफूले सोधपुछ गरिरहेको बताएका छन् ।

सुझावित समाचार