२६औँ एकदिवसीय म्याचमा कुशल भुर्तेलले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् ।
यसअघि उनले तीन अर्धशतक प्रहार गरिसकेका छन् । शतक बनाउनुअघि एक दिवसीयमा उनको सर्वाधिक रन ८४ थियो ।
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नामिबियासँगको जारी खेलमा भने उनले आफ्नो करिअरमा नयाँ इतिहास कोरेका छन् ।
९९ बलमा चार छक्का र नाै चौकाको मद्दतले उनले शतक प्रहार गरे । शतक प्रहार गरेसँगै उनले क्रिजमा खुसियाली मनाए । उनले कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरूतिर ब्याट उठाएर कृतज्ञता पनि व्यक्त गरे । उनलाई क्रिजमा रहेका सन्दीप जोराले साथ दिएका थिए ।


