बागमतीमा जारी राजर्षि जनक कपको तेस्रो क्वाटरफाइनल खेलमा संकटा फुटबल क्लव काठमाडौँ र नवजनजाग्रिती यूवा क्लव सिमराविच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा हुने खेलमा मोफसल क्लव नवजनजाग्रिती सिमराले ‘ए’ डिभिजन क्लव संकटाको सामना गर्ने आयोजक बागमती यूवा क्लवले जनाएको छ । खेल दिउसो ३ बजे सुरु हुने छ ।
नवजनजाग्रिती यूवा क्वलले प्रि क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । संकटा भने एक खेल बाई पाएर सिधै क्वाटरफाइनलमा आएको हो । प्रतियोगिताको विजेताले अन्तिम चारमा स्थान बनाउने छन् भने पराजित टिम घर फर्कने छन् ।
प्रतियोगिताअन्तर्गत यस पहिला सम्पन्न दुई वटा क्वाटरफाइनल खेलबाट जावलाखेल यूथ क्लव ललितपुर र सुदुरपश्चिम–११ धनगढीले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् ।
आजको खेलको विजेताले फागुन ४ गते हुने सेमिफाईनलमा जावलाखेल यूथ क्लवसँग प्रतिस्पर्धा गर्ने छ । मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार रहेको यस प्रतियोगिताको विजेता टिमले १० लाख र राजर्षि रनिङ सिल्ड तथा उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको फाईनल खेल फागुन ७ गते हुनेछ ।