आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा आउने सबैजसो खेल नेपालको नजरमा चुनौती र दबाबपूर्ण हो । शीर्ष पाँचभित्र नेपाल नरहे एकदिवसीय मान्यता खोसिने सम्भावना छ । लिग २ मा नेपालले शीर्ष पाँचभित्र रही एकदिवसीय मान्यता रक्षा गर्न कम्तीमा नौ खेल जित्नुपर्नेछ । यो लक्ष्य प्राप्त गर्न सकिएन भने सम्भवतः नेपाल एकदिवसीय राष्ट्र हुनेछैन । यसै कारण पनि घरेलु भूमिमा मंगलबारदेखि हुन गइरहेको त्रिकोणात्मक एकदिवसीय शृंखलाका प्रत्येक खेल नेपाललाई गर या मरको अवस्थामा छ ।
युवा कप्तान रोहितकुमार पौडेल र नवनियुक्त प्रशिक्षक मोन्टी देसाई पनि नेपाललाई एकदिवसीय मान्यता प्रतिरक्षा गर्ने लक्ष्यका साथ अगाडि बढ्ने योजनामा छन् । साथै, नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल टी–२० को स्पट फिक्सिङजस्ता काण्ड बिसाउन पनि त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब नेपाली खेलाडीसमक्ष छ । फेरि अर्कोतिर बलात्कार अभियोग लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पाँच महिनापछि राष्ट्रिय टोलीमा फर्कंदा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब उत्तिकै छ ।
सन् २०१९ देखि सुरु भएको विश्वकप लिग २ मा नेपाल १८ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले २४ खेलमा केवल आठ जित मात्र निकालेको छ । यस समूहमा स्कटल्यान्डले सर्वाधिक ४६ अंक बटुल्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ । नामिबिया ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
नामिबियाको सामना गर्दै
नेपालले त्रिभुवन क्रिकेट मैदानमा नामिबियाको सामना गर्दै छ । नेपालले सात वर्षपछि त्रिवि मैदानमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो । आज हुने खेलमा घरेलु दर्शकले नेपाली टोलीलाई हौस्याउने विश्वास गरिएको छ । क्यानले आयोजना गरेको नेपाल टी–२० विवादास्पद बन्दा दर्शक खिन्न बनेका छन् । नेपालका प्रशिक्षक देसाईको प्रशिक्षणमा खेल्न नेपाली खेलाडी उत्साहित छन् । नेपाली राष्ट्रिय टोलीका खेलाडीबीच नै बिग्रिएको सम्बन्ध सुधार गर्न प्रशिक्षक देसाईले ‘ह्याप्पी ड्रेसिङ रुम’ नारा अपनाएका छन् ।
उनले नेपाल आएदेखि नै पहिलो काम नै खेलाडीलाई संगठित बनाउने गरेका छन् । ‘मेरो प्रयास जारी छ, खेलाडीहरूलाई एकै स्थानमा ल्याउने काम भइरहेको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा देसाईले भने, ‘अहिले पहिलाभन्दा धेरै सुधार पाएको छु ।’ देसाईअघिका प्रशिक्षक मनोज प्रभाकरको समयमा खेलाडी–खेलाडीबीच मतभेद र गुटगत लडाइँ चलेको थियो ।
प्रभाकरले यसलाई सल्टाउन सकेनन् । उल्टै थप विवाद निकालेर गए । यसरी बिग्रिएको क्रिकेटलाई सुधार गर्ने जिम्मा देसाईले लिएका छन् । नेपाली टोलीमा देसाई नौलो प्रशिक्षक होइनन् । यसअघि उनले नेपालको टोलीसँग सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । घरेलु मैदानमा आयोजना हुने त्रिकोणात्मक शृंखला जित्दै देसाई टोलीभित्र ऊर्जा थप्न चाहन्छन् । उनले खेलाडीबीचको लडाइँ सकिएको उद्घोष गर्ने मनसाय बनाएका छन् । साथै, उनको अर्को लक्ष्य नेपालको एकदिवसीय मान्यता जोगाउनु हो ।
प्रतिस्पर्धा गर्न नेपाल तयार
नेपालका कप्तान पौडेलले टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न तमतयार भएको बताए । रोहितले आफूहरू मानसिक रूपमा तयार भएको प्रतिक्रिया दिए । ‘शृंखला खेल्न हामी तयार छौँ । थोरै दिनको तयारी भएको छ । हामी मानसिक रूपमा खेल खेल्न तयार छौँ,’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘प्रशिक्षक मोन्टी सरको आगमनसँगै खेलाडीमा विश्वास आएको छ । उहाँले पछिल्लो १० दिनमा जुन माहोल बनाउनुभएको छ, त्यो एकदमै राम्रो भएको छ ।’
रोहितले यस शृंखलाले नेपालको एकदिवसीय भविष्य निर्धारण गर्ने बताए । उनले घरेलु मैदानमा हुने चारै खेल निकै महत्वपूर्ण भएको बताएका छन् । ‘नेपालका लागि यो शृंखला निकै महत्वपूर्ण छ । हरेक खेल जित्नुपर्छ । यो शृंखलाले बाँकी समय कस्तो हुन्छ भन्न सकिन्न,’ पौडेलले भने, ‘यस कारण घरेलु शृंखलाले निर्णायक भूमिका खेल्छ ।’ नेपालले अबका १२ मध्ये ९ खेलमा स्पष्ट जित निकाल्नुपर्छ । कप्तान पौडेलले टोलीमा एकता भएको बताए । ‘टोलीमा एकता आएको छ, यो म आफैँलाई महसुस भएको छ,’ उनले भने, ‘घरेलु मैदानको पिच र दर्शकले फाइदा गर्नेछ ।’ नामिबियाका प्रशिक्षक पिइरे डी ब्रुयनाले नेपाल दोस्रोपटक आएपछि तयारी राम्रो भएको बताएका छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुल्सन झा, भीम सार्की, सूर्य तामाङ