तेस्रो वाना रनिङ सिल्ड पुरुष तथा महिला भलिबल प्रतियोगिता बुधबारदेखि

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

संखुवासभाको पाँचखपन नगरपालिकामा तेस्रो वाना रनिङ सिल्ड खुला पुरुष तथा पालिकास्तरीय खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन ३ गते बुधबारदेखि ७ गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वाना युथ क्लबका अध्यक्ष सुबोध श्रेष्ठले बताए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वाना रंगशालामा हुने प्रतियोगिताको सहआयोजकमा पाँचखपन महिला सशक्तीकरण सञ्जाल समिति रहेको छ । ०७७ सालदेखि सुरु गरिएको उक्त प्रतियोगिता दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको छ ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुने टिमले तीन लाख ३६ हजार ६ सय ३६, द्वितीयले एक लाख ७७ हजार सात सय ७७, तृतीयले ७७ हजार सात सय ७७ र सान्त्वना स्थान हासिल गर्नेले ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फ प्रथम हुने टिमले ५१ हजार एक सय ५१, द्वितीयले ३१ हजार एक सय १, तृतीयले २१ हजार एक सय ११ र सान्त्वनाले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

दुवै खेलतर्फ विभिन्न नाैवटा विधामा नगद पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा दुवै खेलतर्फ १०–१० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

सुझावित समाचार