स्पेनिस क्लब रियल म्याड्रिडले पाँचौँपटक क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । म्याड्रिडले शनिबार राति साउदी अरेबियाको अल हिलालमाथि ५–३ को रोमाञ्चक जित निकाल्दै पाँचौँपटक उपाधि हात पारेको हो ।पाँचपटकको फाइनल यात्रामा म्याड्रिड निराश बनेको छैन । मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा म्याड्रिडलाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई गोल गरेका थिए । कप्तान करिम बेन्जेमाले एक गोल थपे ।
एसियन टोली अल हिलालका लुसियानो डारियो भिट्टोले दुई गोल र मोउसा मारेगाले एक गोल गरेका थिए । पछिल्ला १० संस्करणमा युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि उचालेका छन् । अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टोली बन्न असफल भयो । पाँचपटक फाइनल पुगेको म्याड्रिडले यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो । स्पेनिस क्लब बार्सिलोनाले तीन तथा बुन्डेस लिग क्लब बायर्न म्युनिखले दुईपटक उपाधि जितेको छ ।
पहिलो हाफमा तीन गोल
खेलको १३औँ मिनेटमा भिनिसियसले म्याड्रिडलाई १–० को अग्रता दिलाए । खेलको १८औँ मिनेटमा फेडे भाल्भेर्डेले म्याड्रिडलाई २–० को स्थितिमा पु¥याए । अल हिसानले खेलको २६औँ मिनेटमा २–१ को गोल फर्कायो । मध्यान्तरपछि म्याड्रिड थप आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ५४औँ मिनेटमा कप्तान बेन्जेमाले म्याड्रिडलाई ३–१ को बलियो स्थितिमा राखे । त्यसपछि खेलको ५८औँ मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो गोल गर्दा म्याड्रिड खेलमा ४–१ को बलियो स्थितिमा पुग्यो ।
युरोपियन च्याम्पियन्स लिग विजेता म्याड्रिडमाथि हिलालले काउन्टरमा दबाब राखेको थियो । खेलको ६३औँ मिनेटमा लुसियानो डारियोले हिलाललाई ४–२ को स्थितिमा राख्दै खेलमा फर्कने संकेत दिए । ६९औँ मिनेटमा भिनिसियसले म्याड्रिडलाई ५–२ को अवस्थामा राखे । खेलको ७९औँ मिनेटमा लुसियानो डारियो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–३ को स्थितिमा ल्याए ।