भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली तयार

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानी जिम्मेवारी पाएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ र ६ फागुनमा भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेलका लागि एन्जिलालाई कप्तानमा निरन्तरता दिएको हो । गत असोजमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा एन्जिलाले नेपाली टोलीको कप्तानी गरेकी थिइन् । नियमित कप्तान तथा मिडफिल्डर रेनुका नगरकोटे घाइते भएपछि एन्जिलाले पहिलोपटक कप्तानी गर्ने अवसर पाइन् । एन्जिलाको कप्तानीमा नेपाल साफ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । 

यसैबीच, पूर्वकप्तान रेनुकाले सात महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन् । गत असारमा अभ्यासका क्रममा उनी घाइते भएकी थिइन् । त्यसपछि उनी टोलीबाहिर रहँदै आएकी थिइन् । पूर्ण फिट नभएकाले प्रशिक्षक अनन्तराज थापाले एन्जिलालाई कप्तान रोजेका हुन् । रेनुका स्वयं पूर्ण फिट नभएको स्वीकार गर्छिन् । ‘पूर्ण रूपमा फिट भएको छैन । आफ्नो तर्फबाट सक्दो राम्रो गर्छु,’ रेनुकाले नयाँ पत्रिकासँग भनिन् । टोलीमा निर्मला विक, घिमकुमारी गुरुङ र सविता रानामगरले समेत पुनरागमन गरेका छन् । यसबाहेक अन्य खेलाडी साफ च्याम्पियनसिप खेलेकै निरन्तर छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल जवाहरलाल नेहरू रंगशालामा हुनेछ । 

 खेलाडी आत्मविश्वासी
कप्तान एन्जिलाले भारतविरुद्ध खेलमा खेलाडी आत्मविश्वासी भएको बताएकी छिन् । ‘भारतसँगको खेलमा सधैँ जित्नुपर्छ भन्ने भावना जागृत हुन्छ, नेपाली टोली आत्मविश्वासी छ,’ एन्जिलाले भनिन्, ‘हामी दुवै खेल जितेर फर्कन्छौँ ।’ भारतसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई आइतबार एन्फाले एक समारोहबीच बिदाइ गरेको छ । चेन्नईमा एक दिनको अभ्यासपछि नेपालले बुधबार पहिलो खेल खेल्नेछ ।

कप्तान एन्जिलाले भारतलाई साफ च्याम्पियनसिपमा पराजित गरेको भन्दै यसपटक पनि नतिजा दोहो¥याउने जनाइन् । ‘काठमाडाैंमा भएको साफ च्याम्पियनसिपमा हामीले भारतलाई हराएका थियौँ, त्यही जित्ने भावनाका साथ प्रतिस्पर्धा गर्छौं, अहिले टोलीमा सबै अनुभवी खेलाडी छन्,’ उनले भनिन्, ‘युवा खेलाडीले राम्रो गरिरहेका छन् । त्यसैले पनि भारतविरुद्ध टोलीको राम्रो तयारी छ ।’ साफ च्याम्पियनसिपमा स्ट्राइकर रश्मिकुमारी घिसिङको एक मात्र गोलमा नेपालले भारतलाई सेमिफाइलनमा १–० ले पराजित गरेको थियो । 

 भारतसँग खेल्न तयार
नवनियुक्त प्रशिक्षक थापाले भारतसँग खेल्न तयार रहेको बताएका छन् । एएफसी ए लाइसेन्सप्राप्त प्रशिक्षकलाई एन्फाले महिला टोलीको प्रशिक्षणको जिम्मा सुम्पिएको छ । मुख्य प्रशिक्षक बनेपछि थापाले लगातार दुई सातादेखि खेलाडीलाई नियमित प्रशिक्षण गराइरहेका छन् । उनले सबै तयारी पूरा भएको बताए । ‘दुई सातादेखि निरन्तर प्रशिक्षण भइरहेको छ, खेलाडीबीच तालमेल राम्रो छ,’ थापाले भने, ‘साफ यू–२० च्याम्पियनसिपको उपविजेता तीन खेलाडीले आइतबार मात्रै अभ्यास गरे ।’  यू–२० टोलीकी कप्तान प्रीति राई, मिडफिल्डर दीपा शाही र स्ट्राइकर अमिषा कार्की लयमा रहेकाले नेपाललाई सहज हुने थापाको भनाइ छ । 

‘तीन खेलाडी थप हुँदा नेपाली टोली सन्तुलित देखिएको छ, प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु,’ थापाले भने । यसैबीच, भारतको तयारी लामो समयदेखि निरन्तर भए पनि नेपालले चुनौती दिने थापाले बताए । नेपाली टोलीमा स्ट्राइकर सावित्रा भण्डारीलगायत खेलाडी लयमा हुनु सकारात्मक रहेको उनको बुझाइ छ । 

 राइट ब्याकमा समस्या
रक्षक पुनम जर्घामगरले साफ च्याम्पियनसिप समापनसँगै सन्न्यास लिइन् । त्यसपछि उनको स्थान अन्य खेलाडीले लिन सकेका छैनन् । यसै कारण नेपालको रक्षापंक्ति कमजोर भएको प्रशिक्षक थापाले बताए । उनलाई अन्य क्षेत्रभन्दा रक्षापंक्तिमा चिन्ता छ । सेन्ट्रल ब्याक पुनमको स्थानमा यसअघि राइट ब्याक खेल्दै आएकी अमृता जैशीले खेल्नेछिन् । 
नेपालको यू–१९ टोलीबाट खेलेकी निशा थोकर र पुनरागमन गरेकी घिमकुमारीसमेत भरपर्दाे देखिएका छैनन् । लेफ्ट ब्याकमा हिराकुमारी भुजेल र सेन्ट्रलमा गीता राना परिपक्व छन् । 

यस्तो अवस्थामा प्रशिक्षक थापाले अमृतालाई सेन्ट्रलमा ल्याएका छन् । त्रिभुवन आर्मीकी विमला विक र नेपाल पुलिसकी समीक्षा घिमिरेमध्ये एकले राइट ब्याकको जिम्मेवारी पाउनेछन् । प्रशिक्षक थापा दुवैबाट त्यति सन्तुष्ट नभए पनि विमलालाई सोही पोसेसनमा अभ्यस्त बनाएका छन् । 

‘यो पोसेसनमा समस्या छ । तर, भएका खेलाडीले राम्रो गर्नेमा विश्वस्त छु,’ थापाले भने ।’ गोलरक्षकमा एन्जिला रहँदा मिडफिल्डमा सरु लिम्बू, दीपा शाही, अमिषा कार्की, विमला चौधरी छन् । यसैगरी, अग्रपंक्तिमा सावित्रा र रश्मि हुँदा नेपाली टोली बलियो देखिन्छ ।

सुझावित समाचार