चिटिक्क मेची रंगशाला

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण
चिटिक्क मेची रंगशाला

भद्रपुर–झापा गोल्डकप हुने भएसँगै सजिएको मेची रंगशाला । तस्बिर : नयाँ पत्रिका

वरिपरि जीर्ण संरचना । बीचको मैदानमा काँसले जंगलजस्तै बनेको । मैदानभरि खाल्डाखुल्डी । एक महिनाअघिसम्मको मेची रंगशालाको दृश्य हो, यो । कुनै समय नाम चलेको भद्रपुरस्थित मेची रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको छ । 

१८ वर्षअघि त्रिभुवन गोल्डकप भएपछि यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । रंगशालाको संरक्षणमा पनि कसैले ध्यान दिएको थिएन । जसका कारण रंगशाला जीर्ण भइसकेको थियो । रंगशालाको मञ्च, प्याराफिट निकै जीर्ण थियो । ७ फागुनमा प्रथम भद्रपुर, झापा गोल्डकप आयोजना गर्ने भएपछि अहिले यो रंगशालालाई धमाधम सिँगार्ने काम भइरहेको छ । ‘गोल्डकप आयोजना गर्नुको मुख्य उद्देश्य पनि जीर्ण भएको मेची रंगशालाको मुहारमा चमक ल्याउनु नै हो,’ भद्रपुर, झापा गोल्डकप आयोजक समिति अध्यक्ष दिपेश ढकालले भने, ‘मेची रंगशालालाई चिटिक्क बनाउन हामी लागिपरेका छौँ ।’ 

उनका अनुसार एक महिनाअघिसम्म मेची रंगशालाको मैदानमा ठूला–ठूला खाल्डा थिए । संरक्षण अभावमा रंगशाला जीर्ण बनेको थियो । ‘काँसेघारी थियो । जंगलजस्तै भएको थियो । संरक्षण गर्ने कोही थिएनन् । मैदानभरि खाल्डाखुल्डी थिए । हामीले यो सबै सफा गरेर खाल्डाखुल्डी पुरेका छौँ । माटोको चप्परीसहित दुबो ल्याएर ग्राउन्ड बनाएका छौँ,’ अध्यक्ष ढकालले भने, ‘प्याराफिट मर्मत, रंगरोगन, मञ्चको भवन मर्मतलगायतका काम गरेका छौँ । रंगशालालाई कलर गरेर चमक दिएका छौँ । क्रमशः मेची रंगशालाले नयाँ जीवन पाइरहेको छ ।’ यो रंगशालालाई गोल्डकप आयोजना हुने समय अर्थात् ७ फागुनसम्ममा पुरानै अवस्थामा फर्काउने तयारी रहेको अध्यक्ष ढकालले बताए । ‘०२५ सालमा निर्माण भएको मेची रंगशाला कुनैवेला नाम चलेको रंगशाला थियो । यहाँ भारत, बंगलादेश, नेपाललगायत देशका चर्चित खेलाडीले खेल खेले,’ उनी भन्छन्, ‘०६१ सालमा अन्तिमपटक त्रिभुवन गोल्डकप भएसँगै यो रंगशालामा खेलकुद गतिविधि हुनै छाडे । अब हामी निरन्तर यहाँ खेलकुदका गतिविधि गर्छौं ।’ रंगाशालालाई सिँगार्न २२ लाख रुपैयाँ लाग्ने अनुमान रहेको उनले बताए । 

अहिले मेची रंगशाला सिँगारिएको छ । धमाधम रंरोगन भइरहेको छ । भद्रपुर, झापा गोल्डकपका कारण मेची रंगशालाको मुहार फेरिएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल बताउँछन् । ‘मेची रंगशाला समयसँगै उजाड बन्दै गएको थियो । संघीय गणतन्त्र स्थापनापछि पनि संरचना निर्माणका काम त भए । तर, खेलकुद गतिविधि ठप्प हुँदा जीर्ण बन्यो,’ उनले भने, ‘स्थानीय सरकारले नै ३० लाख बजेट छुट्याएर भद्रपुरमा गोल्डकप गर्नुपर्छ भनेर अभियान चलायो । हाम्रै पहलमा समिति गठन भएर गोल्डकपको तयारी भइरहेको छ । अहिले मेची रंगशाला चिटिक्क भएको छ । यो देखेर हामी भद्रपुरवासी खुसी छौँ ।’

७ फागुनदेखि भद्रपुर–झापा गोल्डकप
प्रथम भद्रपुर, झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म हुने भएको छ । गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहने भद्रपुर, झापा गोल्डकप आयोजक सचिवालय सदस्य हिमाल खरेलले जानकारी दिए । उनका अनुसार गोल्डकपमा आयोजकसहित विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी फुटबल क्लब, संकटा, मच्छिन्द्र्र र चर्च ब्वाइज क्लब तथा भारत, बंगलादेश र भुटानका टिमको सहभागिता रहनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । प्रथम भद्रपुर, झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ । आयोजक र मुख्य प्रायोजकबीच मंगलबार सम्झौता भएको हो । 

सुझावित समाचार