राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि विभागीय टोली नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकलतर्फ एपिएफ क्लबकी जेसिका गुरुङले जितेका छन् । प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गरे । उपाधिसँगै प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता प्रफुल्लले नगद २५ हजार पाए ।
तेस्रो स्थानमा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । दुवैले नगद १० हजार प्राप्त गरेका छन् । महिलातर्फ जेसिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गरिन् । पहिलो स्थानकी जेसिकाले ५० हजार र अमिताले २५ हजार पाइन् । तेस्रो स्थान हासिल गरेकी रसिला महर्जन र सीमा राजवंशीले समान १० हजार प्राप्त गरे ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले उपाधि जिते । यो जोडीले ३० हजार प्राप्त गर्यो ।
विष्णु र प्रिन्सको जोडीले आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गरे । दीपक बोहरा र सुनील जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका विजित थापामगरको जोडीले संयुक्त तेस्रो स्थान हासिल गरेका छन् ।