चोटका कारण सात महिना मैदानबाहिर रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान रेनुका नगरकोटेले पुनरागमन गरेकी छिन् । नेपालले ३ र ६ फागुनमा भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ । सोही मैत्रीपूर्ण खेलका लागि नवनियुक्त अनन्तराज थापाले घोषणा गरेको नेपाली राष्ट्रिय टोलीमा रेनुकाले आफ्नो स्थान पक्का गरेकी हुन् । प्रशिक्षक थापाले ३२ खेलाडीको टोली घोषणा गरेका छन् ।
१९औँ एसियन गेम्सको तयारी क्रममा रेनुका असारको तेस्रो साता घाइते भएकी थिइन् । उनले २१ भदौदेखि ३ असोजसम्म भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितासमेत गुमाइन् । रेनुकाको अनुपस्थितिमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कप्तानी जम्मेवारी पाएकी थिइन् । सो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । सात महिनापछि टोलीमा फर्किएकी रेनुकाले पूर्ण रूपमा फिट नभए पनि खेल्न तयार भएको नयाँ पत्रिकालाई बताइन् ।
‘दुई महिनादेखि अभ्यासमा छु । अहिलेसम्म सबै राम्रो छ । पहिलाजस्तो फिट भएकी छैन । तर, खेल्न तयार छु,’ रेनुकाले भनिन् । उनले छोटो अवधिमा पनि राम्रो तयारी गरेको बताउँदै भारतलाई कमजोर नआँक्ने बताइन् । ‘समग्रमा भारतविरुद्ध खेल्ने टोली राम्रो छ । लिग नहुँदा खेलाडी विश्राममा थिए । त्यसैले छोटो समयमा तयारी गरेका छौँ,’ उनले भनिन्, ‘हामी भारतलाई कमजोर मान्दैनौँ । भारतका धेरै खेलाडी परिवर्तन भएका छन् ।’
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक थापाले पूर्वकप्तान रेनुका पूर्ण फिट नभए पनि भविष्यमा राम्रो हुन सक्ने बताएका छन् । ‘रेनुका पूर्ण रूपमा फिट छैनन् । हामी उनलाई प्लेइङमा राख्ने वा नराख्ने निर्णयमा पुगेका छैनौँ,’ थापाले भने, ‘अहिले रेनुकाको अभ्यास कस्तो भइरहेको छ, हेर्छौँ, फिट हुन सकिनन् भने एन्जिलाले नै कप्तान पाउनेछिन् ।’
११ वर्षपछि घिमकुमारी टोलीमा
रक्षक घिमकुमारी गुरुङ ११ वर्षपछि महिला राष्ट्रिय टोलीमा फर्किएकी छिन् । नेपाल पुलिस क्लबकी रक्षक घिमकुमारीलाई प्रशिक्षक थापाले टोलीमा पुनरागमन गराएका हुन् । नेपाली टोलीकी रक्षक पुनम जर्घा मगरले सन्न्यास लिएपछि उनको स्थानमा अनन्तले घिमकुमारीलाई बोलाएका हुन् । प्रशिक्षक अनन्तले स्ट्राइकर निर्मला विकलाई सात वर्षपछि टोलीमा फर्काएका छन् । छैटौँ साफ च्याम्पियनसिपमा टोलीबाहिर रहेकी मिडफिल्डर सविता रानामगर पुनरागमन गर्न सफल भइन् । प्रशिक्षक अनन्तले मञ्जलीकुमारी योञ्जनलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।
नेपाली टोली
- गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ
- डिफेन्डर : विमला विक, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, हिराकुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे
- मिडफिल्डर : प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दीपा साही, सरू लिम्बू, रेनुका नगरकोटे, सविता रानामगर
- स्ट्राइकर : सावित्रा भण्डारी, निर्मला विक, अमिषा कार्की, रश्मिकुमारी घिसिङ, रेखा पौडेल