पहिलोपटक उपाधि जित्ने नेपालको लक्ष्य

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्दै छ । बंगलादेशले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । बंगलादेश सात अंकका साथ शीर्ष र ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै अन्तिम दुई स्थानमा पुगेको हो । नेपालले निर्णायक खेलमा उपाधि दाबेदार भारतमाथि ३–१ को सनसनीपूर्ण जित निकालेको थियो । ढाकास्थित वीर सहिद सिपाही मुस्तफा कमल रंगशालामा फाइनल खेल हुनेछ । 

नेपालको पहिलोपटक र बंगलादेशको तेस्रोपटक उपाधि जित्ने लक्ष्य हुनेछ । सन् २०१८ मा भुटानमा भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । आयोजक बंगलादेश घरेलु दर्शकमाझ नेपाललाई हराउँदै तेस्रोपटक उपाधि जित्न चाहन्छ । राउन्ड रोबिन लिगमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको छ । यद्यपि, फाइनल यात्रासम्ममा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । यही प्रदर्शन फाइनलमा समेत निरन्तरता दिने प्रयासमा खेलाडी देखिएका छन् ।

 फाइनलअघि बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले फाइनलमा बंगलादेशलाई घरेलु दर्शकको फाइदा हुने बताए । ‘बंगलादेश घरेलु टोली हो । हामी पहिलो खेलमा पराजित भएका थियौँ, पछिल्लो समय हामीले राम्रो खेल खेलेका छौँ,’ गुरुङले भने ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानी छोटोनले उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने बताए । ‘नेपाल बलियो टोली हो, पहिलो खेलमा पराजित गरे पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ,’ रब्बानीले भने । उनकै प्रशिक्षणमा बंगलादेशको सिनियर टोलीले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । दक्षिण एसियाली फुटबल महासंघले पहिलोपटक साफ यू–२० महिला च्याम्पियनसिप आयोजना गरेको हो ।

See More On

सुझावित समाचार