शंकास्पद पैसा कारोबारमा संलग्न आरोपमा प्रहरी हिरासतमा रहेका पृथ्वीबहादुर शाहका खाता सञ्चालन अनुमति दिने चार वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ भने एउटालाई सचेत गराएको छ । राष्ट्र बैंकले प्रभु, कुमारी, बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो भने नबिल बैंकलाई सचेत गराएको छ ।
राष्ट्र बैंकले ती चार बैंकलाई ५०–५० लाख जरिवाना लगाएको हो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन तथा निर्देशन उल्लंघन गरेको बैंकको सुपरीवेक्षण विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासिक कारबाही विवरणमा उल्लेख छ । नबिलले भने खाता रोक्कापछि पनि नयाँ खाता खोल्न दिएकाले सचेत मात्रै गराइएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ०७७ चैत १९ मा राष्ट्र बैंकले पृथ्वीबहादुर शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा सबै बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशनमा पे यू सेन्टर प्रालि, वल्र्ड ट्राभल इन्भेस्टमेन्ट प्रालि, वल्र्डवाइज रेमिट, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि, वल्र्ड फस्र्ट होलिडे प्रालि, यू क्यास सर्भिस प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वल्र्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगाना, विजयविक्रम शाह र वल्र्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
गत २२ पुसमा शाहसहित ६ जनालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । ठगी मुद्दामा अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । शाहविरुद्ध व्यापार, रेमिट्यान्स र लगानीसम्बन्धी कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेकोसमेत आरोप छ । केन्द्रीय बैंकले ६ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूलाई सचेत गराएको छ ।