नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

नेपाल साफ अन्डर २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशमा जारी प्रतियोगिताको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो। 

लिग चरणको अन्तिम खेलमा आज नेपालले भारतलाई ३–१ गोल अन्तरले हरायो। नेपालको जितमा अञ्जली चन्द, प्रीति राई र अमिसा कार्कीले एक–एक गोल गरे। 

खेलमा अग्रता भने भारतले लिएको थियो। भारतकी अपूर्ण नार्जारीले २०औँ मिनेटमै गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन्। तर, दोस्रो हाफ सुरु भएको केहीबेरपछि नै अञ्जलीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। 

६९औँ मिनेटमा नेपालले पेनाल्टी प्राप्त गर्यो। कप्तान प्रीतिको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि नेपाल २–१ ले अघि बढ्यो। नेपालले थप एक गोल भने निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गर्यो। अमिसाले बललाई जाली चुमाउँदै नेपालको जित सुनिश्चित गरिन्। 

राउन्ड रोबिन आधारमा खेलाइएको खेलले सुरुवातमै हार व्यहारेको थियो। पहिलो खेलमा बंगलादेशसँग ३–१ गोलले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएको थियो। 

तीन खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ। तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ। 

आजको हारपछि पनि भारत प्रतियोगिताको फाइनल पुग्ने सम्भावना रहेको छ। तर, त्यसका लागि भुटान र बंगलादेशबीचको खेलको नतिजाले निर्णय गर्नेछ। 

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागी छन्। 
 

सुझावित समाचार