पिपुल्स च्वाइस विधाका खेलाडी सार्वजनिक

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत पिपुल्स च्वाइस विधाको मनोनयन सोमबार सार्वजनिक गरेको छ । मञ्चले एक कार्यक्रम आयोजना गर्दै २३ फागुनमा हुने अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो । सो सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् ।

गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्राप्त उपलब्धिका आधारमा खेलाडीरूलाई मनोनयनमा राखेको खेलाडी छनोट समितिका संयोजक अञ्जन खड्काले बताएका छन् । मनोनयनमा परेकामध्येबाट विजेताको चयन ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, एनएसजेएफ सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा हुनेछ ।

अवार्डसँग ई–सेवाको तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि ई–सेवासँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र ई–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षरपछि ई–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाईंले पिपुल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुसी रहेको प्रतिक्रिया दिए । ‘खेल र खेलाडीलाई सम्मान गर्न १९ वर्षदेखि आयोजना हुनु सराहनीय काम हो,’ प्रसाईंले भने, ‘पिपुल्स च्वाइस अवार्ड खेलप्रेमी समर्थकहरूले खेलाडीहरूप्रति देखाउने मायाको माध्यम हो ।’ ई–सेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ । पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५–२५ प्रतिशत रहने आयोजकले जनाएको छ । 

आठ विधामा खेलाडी र खेलकर्मी सम्मानित हुने
यस वर्षको अवार्डमा आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्डको घोषणा २३ फागुनमै हुनेछ । यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । 

सुझावित समाचार