न्यु डायमन्डसँग साबिक विजेता एपिएफ पराजित

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सोमबार अन्तिम खेलमा न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले साबिक विजेता एपिएफलाई पराजित गरेको छ । यसअघि नै न्यु डायमन्ड र एपिएफले फाइनल स्थान पक्का गरिसकेका थिए । यी दुवैबीचको खेल औपचारिकताका लागि मात्र खेलिएको हो । एपिएफमाथिको सानदार जितसँगै न्यु डायमन्डले लिगमा तीनवटै खेलबाट सर्वाधिक नौ अंक बनाएको छ । 

न्यु डायमन्डले पहिलो सेट २५–२१ ले बाजी मारेको थियो । दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै न्यु डायमन्डले एपिएफलाई २५–१९ ले हरायो । तर, तेस्रो सेटमा एपिएफको उत्कृष्ट पुनरामनअगाडि न्यु डायमन्ड २१–२५ ले पछि पर्यो । एपिएफले खेल २–१ को अवस्थामा पु¥यायो । डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो । डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पारिन् । 

शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीबीच भएको खेलमा पुलिसले जित निकाल्यो । पुलिसले निकै नै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित गर्यो । दुवै टोली फाइनल प्रतिस्पर्धाबाट बाहिरिइसकेका थिए । पुलिसकी मनीषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरिन् ।
मंगलबार साबिक विजेता एपिएफ र न्यु डायमन्ड युथबीच उपाधिका लागि भिडन्त हुनेछ । पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुने आयोजकले जनाएको छ । 

सुझावित समाचार