एसियन बक्सिङमा कीर्तिमान रचेकी पुष्पा फर्किइन्

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्यान्डको बैंककमा भएको एएसबिसी यू–२३ पुरुष तथा महिला च्याम्पियनसिपमा रजत विजेता नेपाली खेलाडी पुष्पा तामाङ स्वदेश फर्किएकी छिन् । शुक्रबार राति पदकविजेता पुष्पासँगै नेपाली टोली फर्किएको थियो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत  गरेका थिए । 

खेलाडीलाई स्वागत गर्दै राखेपका सदस्यसचिव घिसिङले आफूले वाचा पूरा गरेको बताए । ‘प्रतिस्पर्धामा ऐतिहासिक प्रदर्शन गर्ने नेपाली बक्सिङ टोलीको भव्य स्वागत गर्ने बताएको थिएँ, आज मैले आफ्नो वाचा पूरा गरेको छु, यसमा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्,’ घिसिङले भने । उनले विजेता खेलाडीहरूलाई नगद पुरस्कार घोषणा गरेका छन् । यद्यपि, ऐतिहासिक प्रदर्शन गरेकी पुष्पालाई कति रकम प्रदान गरी सम्मान गरिने भन्ने उनले बताएनन् । 

बैंककमा राम्रो प्रदर्शनका बाबजुद पदक जित्न नसकेका दुई मुक्केबाज लालप्रसाद उप्रेती र इन्द्र सुनारलाई पनि जनही २५ हजार रुपैयाँ दिने निवर्तमान प्रमुख प्रशिक्षक प्रकाश थापामगरले बताएका छन् । यसैबीच, प्रतियोगिताका समयमा अन्तर्राष्ट्रिय बक्सिङ संघ आइवाबाट सञ्चालन भएको अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल कोर्स परीक्षामा संघका केन्द्रीय सदस्य पुष्करराज पन्त र आइवा २ स्टार रेफ्री जज कोर्स परीक्षाका लागि नेपालका आइवा १ स्टार अन्तर्राष्ट्रिय रेफ्री जज रामचन्द्र थापामगरसँगै धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।

बढी अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउनु
नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले प्रतिभाशाली तथा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीलाई तत्काल बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बताएका छन् । ‘सुष्मालगायत सम्भावना भएका उत्कृष्ट खेलाडीहरूलाई तत्काल वैदेशिक प्रशिक्षण र बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्छ,’ महर्जनले भने । यसै वर्ष चीनमा १९औँ एसियन खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । एसियन खेललाई मध्यनजर गरी नेपालले तयारी गर्नुपर्ने महर्जनको भनाइ छ । ‘१९औँ एसियन गेम्समा पनि ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ, यसका लगि हामीले तयारी गर्नुपर्छ,’ १६औँ एसियन गेम्सका कांस्य पदक विजेतासमेत रहेका महर्जनले भने । 

४८ केजीमा रजत पदक
प्रतियोगिताअन्तर्गत महिलातर्फको ४८ किलो तौलसमूहका सुष्माले एसियनस्तरमा बलियो मानिएका भियतनाम र मंगोलियाका खेलाडीलाई ५–० र आरएससीका आधारमा पराजित गर्दैे फाइनल स्थान पक्का गरेकी थिइन् । फाइनलमा उज्वेकिस्तानका आइवा युथ विश्व च्याम्पियनसँग अंकका आधारमा उनी पराजित भइन् । पुष्पाले पहिलो राउन्डमा निकै राम्रो प्रर्दशन गर्दै ४–१ को स्प्लिट डिसिजनमा पछाडि परेकी थिइन् । दोस्रो र तेस्रो राउन्डमा उज्वेकिस्तानका खेलाडीको खेल रणनीति परिवर्तनपछि उनको निरन्तर आक्रमण र अंक बटुल्ने प्रयास असफल रहेको थियो । पदक विजेता अन्य खेलाडीमा महिलातर्फको फेदर वेट ५४ देखि ५७ किलो तौलसमूहमा हेमा राईले कांस्य, महिला लाइट हेभीवेटमा ७५ देखि ८१ किलो तौलसमूहमा त्रिशा जवेगुले कांस्य र पुरुषतर्फ क्रुजर वेट ८० देखि ८६ किलो तौलसमूहमा विजय बाटाले कांस्य पदक जितेका छन् । २० देशको सहभागिता रहेको सो एएसबिसी एसियनस्तरको यू–२२ बक्सिङ प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कांस्य गरी चार पदक जित्दै वरीयताक्रममा सातौँ स्थान ओगट्न सफल रहेको छ ।
 

सुझावित समाचार