विद्युतीय वाहनको बजारमा अनपेक्षित वृद्धि

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

चीनको सबैभन्दा ठूलो विद्युतीय वाहन निर्माता बिवाइडीले बजार हिस्सेदारीमा अमेरिकी कम्पनी टेस्लालाई उछिनेको छ

डेभिड वालेस–वेल्स

सन् २०२२ मा विश्वव्यापी विद्युतीय वाहनको बजारमा दुई उल्लेखनीय प्रवृत्ति देखियो । एकातर्फ टेस्लाको स्टक मूल्य करिब दुईतिहाइले घट्यो, जसले उसको बजार मूल्य ७०० अर्ब डलरभन्दा बढी गुम्न पुग्यो । तर, अर्कोतर्फ यही वर्ष विश्वव्यापी विद्युतीय वाहनको बजार भने उलेख्य वृद्धि भयो । संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप२७ अघि ब्लुमवर्ग–एनइएफले तयार पारेको रिपोर्टअनुसार सन् २०२२ मा संसारभर विद्युतीय वाहनको बिक्री ६० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । यसअनुसार यो वर्ष कुल बिक्री एक करोडभन्दा बढी हुनुपर्ने थियो । तर, आजको दिनमा सडकमा करिब तीन करोड विद्युतीय सवारीसाधन पुगिसकेका छन् । विद्युतीय वाहनको बजार हिस्सा सन् २०२० यता दुई वर्षको अन्तरमै तीन गुणाले बढेको छ ।

केहीअघि जलवायु परिवर्तन रोक्ने एक भावी लक्ष्य मानिने विद्युतीय वाहन अहिले यथार्थमा बदलिने क्रममा छ । अर्थात् खनिज इन्धनबाट चल्ने यातायातबाट विद्युतीय वाहनतर्फको रूपान्तरणले मूर्तरूप लिइरहेको छ । भर्खरै अमेरिकाको बाइडेन प्रशासनले सन् २०५० सम्ममा ‘नेट जिरो यातायात क्षेत्र’को लक्ष्य हासिल गर्न एउटा योजना सार्वजनिक गर्‍यो, जुन अमेरिकाजस्तो कारको लत लागेको समाजका लागि एक महत्वाकांक्षी लक्ष्य हो । तर, विश्वका अन्य भागमा देखिएको प्रवृत्तिका आधारमा यस्तो महत्वाकांक्षी लक्ष्य पनि सम्भव देखिँदै गएको छ ।

सन् २०२२ मा नर्वेमा बिक्री भएका प्रत्येक पाँच नयाँ कारमा चार (८० प्रतिशत) विद्युतीय थिए, जबकि सन् २०१६ मा प्रत्येक पाँच नयाँ कारमध्ये एक कार (२० प्रतिशत) मात्र विद्युतीय थियो । जर्मनीमा डिसेम्बरमा दर्ता भएका नयाँ कारमध्ये ५५ प्रतिशतभन्दा बढी विद्युतीय वा हाइब्रिड (मिश्रित) थिए । चीनको तथ्यांक योभन्दा पनि उत्साहप्रद छ, जहाँ विश्वका अन्य सबै देशमा बेचिने सम्पूर्ण विद्युतीय सवारीभन्दा बढी विद्युतीय वाहन बेचिएका छन् । चीनमा सन् २०२० को सुरुमा सम्पूर्ण यातायात साधनको कुल ३.५ प्रतिशत मात्रै विद्युतीय वाहन रहेकोमा दुई वर्षभित्रै यसको हिस्सा २०.३ प्रतिशत पुगेको छ । त्यहाँ सन् २०२१ को तुलनामा गत वर्ष झन्डै दोब्बर विद्युतीय सवारीसाधन बिक्री भए । आन्तरिक खपतका अतिरिक्त चीन विद्युतीय वाहनको प्रमुख निर्यातक मुलुकका रूपमा पनि उदाएको छ । यो मुलुकले गत नोभेम्बरमा मात्रै ३.२ अर्ब डलर मूल्यका विद्युतीय वाहन निर्यात गर्‍यो, जुन अघिल्लो वर्षको नोभेम्बरको निर्यातको दोब्बरभन्दा बढी हो । चीनको सबैभन्दा ठूलो विद्युतीय वाहन निर्माता बिवाइडीले विश्वव्यापी बजार हिस्सेदारीमा अमेरिकी कम्पनी टेस्लालाई उछिनेको छ । यी तथ्यांकहरूले टेस्लाको स्टक घट्दै गए पनि उसले आकर्षक बनाउन सघाएको वाहनहरूको विश्वव्यापी परिदृश्य भने उज्ज्वल देखिँदै गएको छ ।

सन् २०२० मा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० अगाडि विद्युतीय सवारी बिक्रीको विश्वव्यापी हिस्सा १० प्रतिशतभन्दा माथि नपुग्ने प्रक्षेपण गरेको थियो । तर, यो लक्ष्य त्योभन्दा आठ वर्षअघि यसै वर्ष हासिल भएको छ ।
 

विद्युतीय वाहनको वृद्धि धेरै विश्लेषकले केहीअघि मात्रै गरेको अनुमानभन्दा नाटकीय रूपमा छिटो देखिन्छ । सन् २०२० मा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० अगाडि विद्युतीय सवारी बिक्रीको विश्वव्यापी हिस्सा १० प्रतिशतभन्दा माथि नपुग्ने प्रक्षेपण गरेको थियो । तर, यो लक्ष्य त्योभन्दा आठ वर्षअघि यसै वर्ष हासिल भएको छ । ब्लुमबर्ग एनइएफले अहिले विद्युतीय वाहनको बजार हिस्सा यो दशकको अन्त्यसम्ममा ४० प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । (अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी भने उसको प्रक्षेपणमा सतर्क नै देखिन्छ, तर पनि दुई वर्षभित्रै ऊ आफ्नो प्रक्षेपण संशोधन गर्न बाध्य भयो । अहिले उसले सन् २०३० मा इभीको बजार हिस्सा पहिलेभन्दा दोब्बर हुने बताएको छ ।) अन्तर्निहित उत्पादन क्षमता अझ बढी उत्साहजनक छ । अमेरिकामा ब्याट्री निर्माणमा लगानी गत वर्ष रेकर्डस्तर (७३ अर्ब) पुग्यो, जुन अघिल्लो वर्षको तत्कालीन रेकर्डभन्दा तीन गुणा धेरै हो । विश्वव्यापी रूपमा, ब्याट्री उत्पादन क्षमता गत एक वर्षभित्रै झन्डै ४० प्रतिशत बढ्यो, र सन् २०२५ सम्ममा यो पाँच गुणा (५०० प्रतिशत)ले बढ्ने अनुमान छ । त्यस वर्षसम्म ब्याट्रीमा प्रयोग हुने महत्वपूर्ण खनिज लिथियमको उत्खनन् पनि सन् २०२१ को भन्दा तीन गुणा बढी हुने अपेक्षा छ । 

बदलिँदो मौसम परिवर्तनशील संसार
हामीले यही परिघटना पहिले पनि देखेका छौँ । विगतका दशकमा हरित संक्रमणका अन्य धेरै क्षेत्रहरूले यस्तै चकित पार्ने असाधारण वृद्धिको अनुभव गरे । अमेरिकामा नवीकरणीय ऊर्जा लगानी एक दशकमै चार गुणा बढ्यो भने स्वच्छ प्रविधिमा विश्वव्यापी लगानी सोही अवधिमा ३० गुणाभन्दा बढीले बढ्यो । साथै विशाल संक्रमणलाई सघाउन पर्याप्त हुने स्तरको सौर्य आपूर्ति शृंखला नै तयार भएको छ । यी तथ्यले आशावादी पर्यवेक्षकलाई भविष्यप्रति उत्साही बनाउन सक्छ । तर, अन्य कुरामा जस्तै जलवायुको सन्दर्भमा पनि चुनौती निकै ठूलो छ । सही दिशातर्फ तेर्सिएको प्रवृत्ति–रेखाले एक प्रकारको झुटो सान्त्वना दिन सक्छ । वैज्ञानिक भ्याक्लाभ स्मिलले गरेको अघिल्लो ऊर्जा संक्रमणसँगको निराशाजनक तुलनालाई बेवास्ता गर्ने हो भने पनि विश्वले इतिहासमा यसअघि कहिल्यै हामीलाई आवश्यक भएजस्तो ऊर्जा क्रान्ति गरेको छैन । विश्वव्यापी तापक्रमलाई स्थिर गर्न कार्बन उत्सर्जनलाई घटाएर मात्र पुग्दैन, त्यसलाई मूलतः शून्यमा झार्नुपर्छ । त्यसका लागि हामीले सवारीसाधनलाई खनिज इन्धनबाट चलाउन छाड्नुपर्छ, जुन विद्युतीय वाहनको बजार हिस्साको तीव्र वृद्धिले मात्र पुग्दैन । किनभने हावामा शताब्दीयौँसम्म रहने कार्बनजस्तै फोहोर कारहरू पनि लामो समयसम्म कार्बन उत्सर्जन गर्दै सडकमा कुदिरहन्छन् ।

अर्थशास्त्रीहरू यसलाई ‘प्रवाह’को भन्दा पनि ‘स्थिरता’को समस्या भन्छन् । अर्थात्, विद्युतीय वाहनको नयाँ ‘प्रवाह’ प्रभावशाली भए पनि सडकमा तिनको कुल विश्वव्यापी हिस्सा जम्मा दुई प्रतिशत मात्र छ । अर्थात् विद्युतीय वाहनको कुल बजार हिस्सा सय प्रतिशत हुने परिदृश्य अझै धेरै टाढा छ । तीव्र वृद्धिले समेत एक नयाँ चुनौतीको परिदृश्य खडा गरिदिन्छ । विगतमा धेरैलाई विद्युतीय सवारीहरूको पर्याप्त माग नै नहोला भन्ने चिन्ता थियो । तर, अहिले मागले आपूर्तिलाई उछिनेको छ । यो सकारात्मक प्रवृत्तिले विद्युतीय वाहनको मूल्य बढाउनुका अतिरिक्त उत्पादन र वितरणमा ढिलाइ सिर्जना गर्ने चिन्ता बढेको छ । साथमा खनिज उत्खनन, प्रशोधन तथा उत्पादनका लागि खडा गर्नुपर्ने साम्राज्यप्रति पनि चिन्ता बढाएको छ । यो समस्या देखिएभन्दा धेरै सानो हुन सक्छ । किनकि लिथियम दुर्लभ स्रोत पनि होइन र विश्लेषकहरू लिथियम रसायन भावी ब्याट्री क्रान्तिका लागि पर्याप्तभन्दा बढी नै रहेको बताउँछन् ।

थिया रियोफ्रान्कोसजस्ता अभियन्ता भने यी सामग्री निकाल्ने र उत्पादन गर्ने प्रणालीलाई जिम्मेवार बनाउनुपर्ने पक्षमा बढी चिन्तित छन् । यसको सम्भावित जवाफ दिएझै भोल्ट्स न्युजलेटरका लेखक डेभिड रोबर्ट ब्याट्रीको पुनः प्रयोगमा जोड दिन्छन् । रोबर्टको प्रस्तावअनुसार लिथियमलाई अन्तहीन दोहन गर्न सकिने स्रोतभन्दा पनि ‘नवीकरणीय’ स्रोतको रूपमा व्यवहार गर्नुपर्छ, जसका लागि पुराना ब्याट्रीमा प्रयोग भएका लिथियमलाई पुनः प्रयोगमा जोड दिनुपर्छ । पछिल्लो समय हरित संक्रमणमा भूराजनीतिक चुनौती पनि थपिएको छ । यसले केहीमा प्रश्न उब्जाएको छ : विद्युतीय सवारी उत्पादनमा हरित उद्योगमा देखिने सम्भावित ‘डिग्लोबलाइजेसन’ले अवरोध पुर्‍याउला ? अमेरिकाले गत वर्ष पारित गरेको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ले ब्याट्रीका निश्चत पुर्जाहरू स्वदेशमै बनेका वा निश्चित व्यापारिक साझेदारले बनाएको पाइएका विद्युतीय कारमा मात्र कर छुट दिने सर्त राखेको छ । तर, अहिले विश्वका कुल विद्युतीय वाहनको झन्डै ७५ प्रतिशत हिस्सा चीनले उत्पादन गरिरहेको स्थिति छ । साथै ती ब्याट्रीमा लाग्ने हिस्सा पनि सोही दरमा उत्पादन गर्छ । 

अर्को समस्या सिभिल इन्जिनियर एमिली ग्रुबर्टले भन्ने गरेजस्तो मध्य–संक्रमणको छ । मध्य–संक्रमण भन्नाले अहिलेको स्थिर खनिज इन्धन प्रभुत्वको ऊर्जा प्रणाली र भविष्यको स्थिर स्वच्छ ऊर्जा प्रभुत्व प्रणालीबीचको अवधिलाई भन्न खोजिएको हो । त्यस अवधिमा विद्युतीय वाहन र खनिज इन्धनबाट चल्ने कार दुवै सडकमा प्रभुत्वका लागि प्रतिस्पर्धा गर्नेछन् । आखिर कुन बिन्दुमा पेट्रोल पम्पको व्यवसाय घाटाको लाग्न थाल्छ, र त्यसपछि के हुन्छ ? यो अपेक्षाकृत प्राविधिक प्रश्नजस्तो लाग्न सक्छ, तर मध्य–संक्रमणका समस्याहरूमा रोजगारी संरचना र निवृत्तिभरण, नयाँ संरचनाको सुरक्षा र सरसफाइमा आवश्यक पर्ने दक्ष श्रमिकको तयारी र पेट्रोलियम पदार्थको घट्दो प्रयोगसँगै घट्ने करले सिर्जना गर्ने समस्या पर्छन् । 

विश्वमा बिक्री हुने विद्युतीय सवारीसाधनको ठूलो हिस्सा धनी अर्थतन्त्रहरूमा खपत भइरहेको छ तर, त्योभन्दा ठूलो हिस्सा न्यून आययुक्त मुलुकमा भइरहेको छ । अहिले विद्युतीय सवारीको क्रान्ति चारपांग्रे गाडीमा भन्दा बढी दुई वा तीनपांग्रे सवारीसाधनमा देखिएको छ । आजको दिनमा विश्वभरका सडकमा विद्युतीय कारभन्दा १० गुणा धेरै विद्युतीय स्कुटर, मोटरसाइकल र ट्याम्पो कुदिरहेका छन् । ती सवारीसाधनले चारपांग्रे विद्युतीय कारले भन्दा धेरै परिमाणमा कार्बन उत्सर्जन हटाउन सघाइरहेका छन् । सन् २०२० मा अमेरिकीले विद्युतीय कारभन्दा दोब्बर बढी इ–बाइक किनेका थिए । अन्य क्षेत्रमा जस्तै जलवायु परिवर्तन रोक्ने कुरामा पनि एकसाथ धेरै प्रवृत्ति चलायमान भइरहेका छन् ।

द न्युयोर्क टाइम्सबाट

(द न्युयोर्क टाइम्सका स्तम्भकार डेभिड वालेस–वेल्स ‘द अनह्याबिटेबल अर्थ’का लेखक हुन् ।)
 

सुझावित समाचार