सुष्मा यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

एसियनस्तरको प्रतियोगितामा नेपाली बक्सर पहिलोपटक फाइनलमा

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण
सुष्मा यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

नेपालकी सुष्मा तामाङ (निलो जर्सी)ले मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पन्च प्रहार गर्दै

नेपाली महिला मुक्केबाज खेलाडी सुष्मा तामाङ थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको एएसबिसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । प्रतियोगिताको ४८ केजी तौलसमूहको आइतबार भएको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई आरएससीका आधारमा पराजित गर्दै अन्तिम दुई स्थान रक्षा गरेकी हुन् ।

नेपाली बक्सरले एसियालीस्तरको आधिकारिक प्रतियोगितामा फाइनल स्थान बनाएको यो पहिलो अवसर हो । नेपाल बक्सिङ संघको स्थापनादेखि अहिलेसम्म कुनै पनि खेलाडीले एसियनस्तरमा फाइनल स्थान बनाएको पनि यो नै पहिलोपटक हो । यसअघि नेपाली मुक्केवाज सेमिफाइनलसम्म पुगेका थिए । सुष्माका प्रशिक्षक दीपक महर्जन स्वयं एसियाडका कांस्यपदक विजेता हुन् । सन् २०१० मा चीनको ग्वाझाउ एसियाडमा नेपाललाई बक्सिङबाट प्राप्त एक मात्र कांस्यपदक दीपकले दिलाएका थिए । दीपककै प्रशिक्षणमा रहेकी सुष्माले नेपाली बक्सिङमै इतिहास रच्दै फाइनल स्थान सुरक्षित गरेकी हुन् । 

सुष्माले अब बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । फाइनल स्थान पक्का गर्ने क्रममा सुष्माले क्वार्टरफाइनलमा भियतनामकी फाम थी किनहानलाई पनि पराजित गरेकी थिइन् । मंगोलियाका प्रतिद्वन्द्वी जनरगुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) का आधारमा हराएकी थिइन् । 

४८ केजी तौल समूहको फाइनलमा पुगेकी सुष्मा तामाङ बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभासँग भिड्दै

क्वार्टरफाइनलमा जित हात पारेपछि सुष्माले आफ्नो लक्ष्य नै नेपाललाई पदक दिलाउन रहेको बताएकी थिइन् । ‘मेरो लक्ष्य नै नेपाललाई पदक दिलाउने हो,’ क्वार्टरफाइनल खेलपछि उनले भनेकी थिइन्, ‘सकेसम्म फाइनलमा प्रवेश गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाउने प्रयास गर्नेछु ।’ सुष्माले क्वार्टरफाइनलमा दिएको प्रतिक्रिया पूरा गरेकी छिन् । फाइनलमा उनले उज्वेकिस्तानकी प्रतिद्वन्द्वीलाई हराउँदा नेपाली बक्सिङ खेलकै सर्वाधिक ठूलो उपलब्धि हात पार्नेछिन् । 

सुष्माले फाइनलमा प्रतिस्पर्धा गर्ने उज्वेकिस्तानकी फोजिलोभाले सेमिफाइनलमा आयोजक राष्ट्र थाइल्यान्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५–० अंकका आधारमा हराइन् । सन् २०२१ मा पोल्यान्डमा भएको विश्व युथ महिला बक्सिङ च्याम्पियनसिपमा पनि सुष्माले लिथुयानियाकी खेलाडीलाई पराजित गरी क्वार्टरफाइनल स्थान पक्का गरेकी थिइन् । त्यसवेला उनी विश्व वरीयतामा छैटौँ स्थानमा पुग्न सफल रहिन् । 

हुमाले जोल्जार्गलसँग खेल्ने 
यसैगरी, बैंककमा चलिरहेको प्रतियोगितामा महिलातर्फ नेपाली महिला खेलाडी हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नेछिन् । हेमाले क्वार्टरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट तीन महिला र तीन पुरुष खेलाडीको सहभागिता छ । पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार क्वार्टरफाइनलमा पराजित भइसकेका छन् । ८६ केजी तौलसमूहका विजय बाटा बाई पाएर कम्तीमा कांस्यको हकदार बनिसकेका छन् । सेमिफाइनलमा उनले भारतका मुस्किता माइखेलसँग खेल्नेछन् ।

सुझावित समाचार