१३ बैंकले नाफा बढाए, सातको घट्यो

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । बैंकको नाफा तीन अर्ब ४१ करोड पुगेको छ । गत आवको ६ महिनामा यस्तो नाफामा दुई अर्ब १८ करोड थियो । नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेका कारण पनि उसको नाफा धेरै बढेको देखिन्छ । यस अवधिमा एभरेष्ट बैंकको नाफाको वृद्धिदर सबैभन्दा धेरै बढेको देखिन्छ । बैंकको खुद नाफा ९० प्रतिशतले बढेर एक अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । 

शनिबारसम्म प्रकाशित २० वाणिज्य बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार सात वटा बैंकको नाफा गत वर्षको तुलनामा खस्किएको छ । गत वर्षको तुलनामा यो वर्ष सन्राइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्रभु, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको हो । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर परेको हो ।  

यस अवधिमा एनआइसी एसियाले तीन अर्ब २७ करोड नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । तेस्रोमा ग्लोबल आइएमई बैंकको रहेको छ । आइएमईले दुई अर्ब ७८ करोड नाफा आर्जन गरेको छ । पुँजीका आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा आर्जन गरेको नाफा गत वर्षको तुलनामा ४.५१ प्रतिशतले मात्रै बढी हो ।

कृषि विकास बैंकको नाफा भने सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको दोस्रो त्रैमासमा एक अर्ब ४२ करोड नाफा कमाएको बैंक चालू आर्थिक वर्षको सोही अवधिमा १२ करोड ८९ लाख घाटामा देखिएको छ । बैंकको खराब कर्जा बढ्दा नाफामा असर परेको विवरणमा देखिन्छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि दुई अर्ब ७१ करोड नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५३ प्रतिशतले बढी हो । तर, नेपाल बैंकको नाफा भने खुम्चिएको छ । गत आर्थिक वर्षको ६ महिनामा एक अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको यो बैंकले यस आर्थिक वर्षमा एक अर्ब १७ करोड रुपैयाँ मात्रै नाफा गरेको छ । १७ प्रतिशतले यो बैंकको नाफा घटेको हो ।

करोडमा मात्रै नाफा गर्ने बैंक
६ महिनामा चार बैंकको नाफा करोडमा सीमित भएको छ । सिभिल बैंकले ६३ करोड रुपैयाँ नाफा कमाएको छ भने सन्राइज बैंकले ६५ करोड नाफा कमाएको छ । हिमालयन बैंकले ९५ करोड रुपैयाँ र सिटिजन्स बैंकले ८४ करोड रुपैयाँ मात्रै नाफा कमाएका हुन् । 

सुझावित समाचार