नेपालमा हिउँदे वर्षा गराउने प्रणाली नै कमजोर : डा. इन्दिरा कँडेल

शनिबार, ७ माघ, २०७९
डिजिटल संस्करण
नेपालमा हिउँदे वर्षा गराउने प्रणाली नै कमजोर : डा. इन्दिरा कँडेल

​​​​​​​डा. इन्दिरा कँडेल,  वरिष्ठ मौसमविद् जल तथा मौसम विज्ञान विभाग

प्रशान्त महासागर र हिन्द महासागरको तापक्रमसँगै अन्य सामुद्रिक प्रणाली र वायुमण्डलीय प्रणालीका स्पष्ट असर मनसुनी वर्षामा हुन्छ । तर, हिउँदे वर्षामा महासागरको तापक्रम र सामुद्रिक प्रणालीको दैनिक असर नदेखिए पनि कुनै न कुनै प्रभाव भने रहन्छ । हिउँदमा वर्षा गराउने प्रणाली पश्चिमी न्यूनचापीय प्रणाली हो, तर केही दिनअघि आएको प्रणाली पनि कमजोर थियो । वर्षा गराउन सकेन ।

महासागरमा लालिनाको अवस्था रहेमा हिउँद याममा पश्चिमी न्यूनचापीय प्रणाली कम सक्रिय हुन्छ र यसले वर्षा पनि कम गराउँछ । लालिनाको अवस्थामा हिउँदमा प्रशान्त महासागरको तापक्रम कम हुन्छ, चिसो हुन्छ । लालिना मनसुनमा भएको भए नेपालमा बढी वर्षा हुन्थ्यो । तर, हिउँदमा कम वर्षा गराउँछ । अहिले लालिना ‘एन्सो’को अवस्थामा छ भन्नुको अर्थ पूर्वी प्रशान्त महासागरको भूमध्यीय रेखाको तापक्रम सरदरभन्दा कम छ भन्ने हो । 

हिउँदमा पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्छ, माथिल्लो तहबाट पनि जलवास्पयुक्त हावा आउने हुन्छ । अरबसागरबाट पनि ल्याएको वास्पयुक्त हावाले बदली गराउनुका साथै वर्षा गराउने हुन्छ । तर, लालिनाले यो प्रणालीको सर्कुलेसनलाई उल्टा गरिदिन्छ, हाम्रोतिर हुने वर्षा अन्यत्र डाइभर्ट भइदिन्छ । 

हिमपात पनि वर्षासँग जोडिएको छ । हिउँदे यामको प्रक्षेपण गर्दा हामीले तापक्रम औसतभन्दा बढी हुने र वर्षा कम हुने भनेका थियौँ । तर, अब के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । हामीसँग भएको प्रविधिले तीन दिन, एक साता र सिजनल प्रक्षेपण मात्र गर्छ । अब एक महिनामा के हुन्छ भनेर प्रविधि राखिसकेका छैनौँ, सिजनल प्रक्षेपण पनि सन् २०२० बाट मात्र सुरु भएको हो । खडेरी हुँदा कृषि उत्पादन कम हुने र पानीका मुहान सुक्ने हुन्छ ।

सुझावित समाचार