कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेश सभाको बैठकबाट शर्माले विश्वासको मत लिन मंगलबार नै प्रदेश सभा सचिवालयलाई जानकारी गराइएको थियाे । प्रदेश सभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैलाई मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दै छ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान हुनेछ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।