यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ। पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको संख्या घटेको हो।
भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौं जाने र आउनेको संख्या घट्दै गएको हो।
कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौं गएका थिए। माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन।
पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट हवाई यात्रा गरेका छन्।
भरतपुर–काठमाडौं रुटका साथै काठमाडौं–भरतपुर रुटमा पनि हवाई यात्रुको संख्या घटेको छ। कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौंबाट भरतपुर आएका थिए।
यस्तै, माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सातजना हवाई मार्ग हुँदै काठमाडौंबाट चितवन आएका छन्।
अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ। जसअन्तर्गत गुण एयरलाइन्सले काठमाडौं–भरतपुर–काठमाडौं र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौं–भरतपुर–काठमाडौं रुटमा दैनिक आठवटा उडान गर्दै आएको छ।
विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुन सक्ने बताए।
विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थलअनुसारको मापदण्डअनुसार नबनेकाले केही समस्या भएको उनले बताए। भरतपुर विमानस्थलको धावनमार्गमा रहेका अप्ठ्याराका कारणसमेत यात्रुहरूलाई हवाई यात्रा असहज बनेको कार्यालयले जनाएको छ।
धावनमार्ग वरपर दुई सय ५७ वटा घर मापदण्ड विपरीत बनेका छन्। अहिले विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर छ। धावनमार्गनजिक अग्ला घरका कारण विमानले पूरै धावनमार्ग प्रयोग गर्न नसक्ने अवस्था रहेको छ।
यसैबीच यात्रुको चाप घटेपछि विमान कम्पनीले हवाई भाडासमेत घटाएका छन्। एकतर्फी भाडादर रु पाँच हजारसम्म रहेकोमा पछिल्ला दिनमा विमान कम्पनीले रु दुई हजार पाँच सय भाडा कायम गरेर अनलाइन टिकट बिक्री गरिरहेका छन्।