जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन, चिकित्सक सात दिनका लागि निलम्बित

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

कोसी अस्पतालले जीवितै रहेकी १८ दिनको नवजात शिशुलाई मृत घोषणा गरेको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । कोसी अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा घटना छानबिन गर्न  तीन सदस्यीय समिति गठन गरिएको हो ।

अस्पतालका निमित्त प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले घटना संवेदनशील भएकाले छानबिन गर्न समिति गठन गरिएको बताए । उनका अनुसार समितिमा अस्पतालका बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनको तर्फका रामप्रसाद नेपाल रहेका छन् ।

समितिलाई घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । अस्पतालका मेसु लक्ष्मीनारायण यादवले भने, ‘हामीले तत्काल उपचारमा संलग्नहरूलाई तुरुन्त स्पष्टीकरण सोधेर निलम्बन पनि गरेका छौँ । प्रतिवेदनअनुसार आवश्यक थप कारबाही पनि गर्नेछौँ ।’

बुधबार आकस्मिक उपचारमा ल्याइएकी मोरङको जहादा गाउँपालिका– ३ भाथीगन्जकी एक नवजात शिशुलाई चिकिकत्सकले मृत घोषणा गरेका थिए । तर, मृत भनिएको शिशुको घर पुगेपछि हातगोडा चलेपछि बुधबार दिनभर अस्पतालमा तनावको अवस्था उत्पन्न भएको थियो ।

आफन्तहरूले जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिटसमेत गरेका थिए । चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तत्काल तीनजनालाई नियन्त्रणमा लिए पनि पछि दुवै पक्षबाट गल्ती भएको भन्दै मिलापत्र भएपछि छाडिएको थियो ।

अस्पताल र जिल्ला प्रशासनले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार प्रशासनको निर्देशनमा घटना छानबिन समिति गठन गरिएको हो ।

मृत घोषणा गरिएको शिशुको हाल कोसी अस्पतालनजिकै रहेको गोल्डेन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । बुबा दिलीप मुखियाका अनुसार छोरीको स्वास्थ्यमा सुधार भइरहेको छ ।
 

सुझावित समाचार