नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक तालिकामा १८ अंकका साथ छैटौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ । सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।
‘एक वा दुई दिनभित्र हामी क्लोज क्याम्प सुरु गर्दै छौँ, क्याम्पमा सन्दीप पनि समावेश हुनेछन्,’ मल्लले भने, ‘त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ ।’ पाटनको उच्च अदालतले गत साता बलात्कार आरोप खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला दिएको थियो । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ ।
उच्च अदालतको फैसला आएको दिन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडीका रूपमा जनाएका थिए । ‘सन्दीप फिट छन् वा छैनन्, त्यसमा निर्भर पर्छ,’ चन्दले भनेका थिए, ‘हामी सन्दीपलाई टोलीमा राख्छौँ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका छन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भन्छन् –एक वा दुई दिनभित्र हामी क्लोज क्याम्प सुरु गर्दै छौँ, त्यसमा सन्दीप पनि समावेश हुनेछन्, त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ
‘आइसिसीले हामीलाई यहाँको कानुनअनुसार अगाडि बढ्न भनेको छ,’ मल्लले भने, ‘आइसिसीले भनेको अनुसार र यहाँको कानुनी प्रक्रियाअनुरूप सन्दीपलाई प्रशिक्षणमा बोलाउँछौँ ।’ राष्ट्रिय क्रिकेट टोलीलाई योगदान गरेका एक प्रतिभाशाली खेलाडीलाई प्रशिक्षणबाट वञ्चित गर्न नहुने भनाइ उनको छ ।
सन्दीपजत्तिको खेलाडीलाई क्लोज क्याम्पबाट बाहिर राख्न नसकिने र एक हिसाबले उनी टोलीमा हुनुपर्ने खेलाडीमा पर्छन्,’ मल्लले भने, ‘क्लोज क्याम्पको प्रदर्शनअनुसार सन्दीप टोलीमा रहने वा नरहने कुरा आउँछ ।’ वल्र्ड डिभिजन–२ को तयारीका निमित्त क्यानले राष्ट्रिय खेलाडीहरूलाई अभ्यास खेलमा सहभागी गराइराखेको छ । ‘हामीले खेलाडीहरूलाई तयारीमा राखेका छौँ,’ मल्लले भने ।
पाँचजना प्रशिक्षक सर्ट लिस्टमा
क्यानको प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि आवेदन परेकामध्ये उत्कृष्ट पाँचजनाको नाम छनोट गरेको छ । गत साता क्यानले प्रशिक्षक आवेदन खुला गर्दा २४ जनाले निवेदन बुझाएका थिए । सोही आवेदनमध्ये क्यानले उत्कृष्ट पाँचजनाको सर्ट लिस्ट तयार पारेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बन्न भारतका मोन्टी देसाई, नेपाली टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोर, पूर्वबलिङ सल्लाहकार श्रीलंकाली धम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्ड टी–२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनललाई क्यानले छनोट गरेको छ । क्यानले बुधबार पाँचैजना सर्ट लिस्टमा परेका प्रशिक्षकहरूसँग अन्तर्वार्ता लिएको छ । ‘हामीले बुधबार ४–६ बजे साँझ पाँचजनासँग अन्तर्वार्ता लियौँ,’ छनोट समितिका संयोजकसमेत रहेका क्यान कार्यसमिति सचिव मल्लले जानकारी दिए, ‘केही दिनमै हामी मुख्य प्रशिक्षकको चयन गर्छौं ।’
दीर्घकालीन समय माग
यो दुई वर्षभित्र नेपाली राष्ट्रिय टोलीका चार प्रशिक्षक परिवर्तन भएका छन् । क्यानलाई अब बन्ने प्रशिक्षकले लामो समय नेपाली टोली हेर्छन् वा हेर्दैनन् भन्ने चिन्ता छ । क्यानले सर्ट लिस्टमा परेकासँग अन्तर्वार्ता लिँदा यही प्रश्न मुख्य बनाएको थियो । ‘हामीले अन्तर्वार्तामा नेपाली टोलीमा लामो समय दिन सक्ने वा नसक्ने मुख्य विषय बनाएका थियौँ,’ मल्लले भने, ‘अन्तर्वार्तामा सहभागी भएकाहरूले यसपटक सम्झौताअनुसार नेपाली टोली हेर्ने वाचा गरेका छन् ।’